रिब्दिकोटमा उपाध्यक्षसँग विद्यार्थी कार्यक्रम: सिकाइ र प्रेरणाको साझा मञ्च

रिब्दीकोट गाउँपालिकाको आयोजनामा तथा नव किरण नेपाल पाल्पाको सहजीकरणमा “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” वडा नं. ६ स्थित नारायण माध्यमिक विद्यालय, ढुस्तुङ पाल्पामा सम्पन्न भएको छ । वडा अध्यक्ष प्रकाश रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।  कार्यक्रममा वडा नं. ६ का जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू, शिक्षकहरू तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । वडा भित्रका विभिन्न विद्यालयहरूबाट करिब २५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। यसले समुदायस्तरमा शिक्षा र अभिभावकको भूमिकाप्रति बढ्दो चासो र जिम्मेवारीबोध झल्काएको छ ।

 

प्रमुख अतिथि नारायण बहादुर कार्कीले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्। उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालय मात्र नभई घरपरिवार र समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे । उनले अभिभावकहरूलाई आफ्ना सन्तानको अध्ययन, व्यवहार र प्रगतिबारे नियमित रूपमा जानकारी लिन र विद्यालयसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरे। सकारात्मक पारिवारिक वातावरणले बालबालिकाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले त्यसतर्फ सबै अभिभावक सचेत हुनुपर्ने उनको भनाइ थियो । प्रमुख अतिथि कार्कीले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति केन्द्रित रहन प्रेरित गर्दै निरन्तर प्रयास र सही मार्गदर्शनले मात्र सफलता हासिल गर्न सकिने धारणा व्यक्त गरे। साथै उनले स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि आवश्यक सहयोग र कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए। 

 

कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूलाई आफ्ना सन्तानको शिक्षाप्रति सचेत, जिम्मेवार र सक्रिय बनाउनु रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीको समग्र विकासका लागि अभिभावक, शिक्षक, विद्यालय र समाजबीच सशक्त सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।  अभिभावकहरूले आफ्ना बालबालिकाको अध्ययन, व्यवहार, अनुशासन तथा प्रगतिबारे नियमित रूपमा विद्यालयसँग सम्पर्क राख्नुपर्नेमा विशेष जोड दिइएको थियो । घरपरिवारमा सकारात्मक, सहयोगी र अनुशासित वातावरण निर्माण गरिएमा बालबालिकाको सिकाइमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरिएको थियो । त्यसैगरी, कार्यक्रममार्फत अभिभावकहरूलाई बालबालिकाको मनोविज्ञान बुझ्ने, उनीहरूको रुचि र क्षमता अनुसार मार्गदर्शन गर्ने तथा अनावश्यक दबाब नदिने विषयमा समेत सचेत गराइएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको र आफ्ना सन्तानको शिक्षामा थप जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए । 

 

कार्यक्रममा अर्गानिक एजुकेसन नेपालका कार्यकारी निर्देशक अर्जुन भट्टले प्रभावकारी प्रशिक्षण दिएका थिए। उनले असल अभिभावक बन्न आवश्यक सीप, बालबालिकासँगको व्यवहार, सिकाइमा सहयोग गर्ने तरिका तथा सकारात्मक अनुशासनबारे विस्तृत रूपमा जानकारी गराएका थिए। शिक्षा शाखाका स्रोत व्यक्ति गोपाल केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नव किरण नेपालका प्रबन्ध निर्देशक दिपक भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments