रिब्दीकोटमा पाँचवर्षे कृषि रणनीति निर्माण कार्यशाला सम्पन्न
पाल्पा – “समृद्ध रिब्दीकोट निर्माणको आधार; कृषिमा विस्तार” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिकामा एक महत्वपूर्ण गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना, हेफल इन्टरनेसनल नेपालको आर्थिक सहयोग र नेपाल फार्मर एडभाइजरी काउन्सिल (NFAC), काठमाडौं नेपालको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यशालाले रिब्दीकोटको कृषि तथा पशु विकासको आगामी पाँच वर्षको रणनीतिक योजना निर्माणमा मार्गचित्र तय गर्ने उद्देश्य लिएको छ ।
रिब्दीकोट गाउँपालिकाको कार्यपालिकाको कार्यालय, खस्यौली, पाल्पामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कार्यालयका सम्बन्धित शाखा प्रमुख तथा कर्मचारीहरू, हेफर इन्टरनेशनल नेपालका प्रतिनिधिहरू, ग्रामीण आर्थिक विकास संघ (REDA) का प्रतिनिधिहरू, अग्रज कृषकहरू तथा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष कार्कीले रिब्दीकोट गाउँपालिकाको आर्थिक समृद्धि सुनिश्चित गर्न कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै, पाँचवर्षे योजना बनाउने यो पहल स्थानीय उत्पादन बढाउन, कृषकलाई सक्षम बनाउन तथा युवालाई कृषि व्यवसायमा आकर्षित गर्न महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा हाल गाउँपालिकामा भइरहेका कृषि तथा पशुपालनसम्बन्धी गतिविधिहरू, उत्पादन क्षमता, उपलब्ध श्रोत-साधन, जलवायु अनुकूलन उपायहरू, नवप्रविधिको प्रयोग, बजार अभाव तथा सम्भाव्य समाधानहरूबारे विस्तृत रुपमा जानकारी दिइएको थियो । साथै सहभागीहरूले समूहगत छलफल मार्फत क्षेत्रीय विशिष्टता, कृषकको आवश्यकता, कृषिको व्यावसायीकरण, पशु बीमा, सिँचाइ व्यवस्था, बीउबिजनको उपलब्धता, कृषि तालिम तथा अनुदान व्यवस्थापन लगायत विषयमा आ-आफ्नो धारणा प्रस्तुत गर्नुुभएकाे थियाे ।
गोष्ठीमा सहभागी कृषक र सरोकारवालाहरूले रणनीतिक योजनाले कृषि क्षेत्रको दिगो विकास, उत्पादन वृद्धि, आयआर्जनमा वृद्धि र ग्रामीण जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरेका गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि खनालले जानकारी दिनुभयो । ग्रामीण आर्थिक विकास संघ (REDA) तथा हेफर इन्टरनेसनल नेपालका प्रतिनिधिहरूले कृषि क्षेत्रको पुनरुत्थानका लागि प्रविधिमैत्री, समावेशी तथा किसान-केन्द्रित योजना बनाउन आवश्यक रहेको बताउनुभयो । साेहि अनुरूप नेपाल फार्मर एडभाइजरी काउन्सिल (NFAC) का प्राविधिक टोलीले रणनीतिक योजना निर्माणका विभिन्न चरण, आवश्यकता मूल्यांकन विधि, समावेशी सहभागिता, नीति अनुकूलता तथा कार्यान्वयन संरचनाबारे जानकारी दिएकाे बताउदै योजना निर्माणमा सहभागी सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।
कार्यक्रमको समापन सत्रमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सहभागी सबैलाई धन्यवाद दिंदै, अबको केही महिनाभित्रै योजना तयार गरी पालिकाको नीति तथा बजेटमा समावेश गर्ने गरी कार्य अघि बढाइने जानकारी दिनुभयाे । उहाले यस योजनालाई व्यवहारमा उतार्न सबै सरोकारवालाको सहकार्य र प्रतिबद्धता अपरिहार्य रहेकोमा जोड दिनुभयाे । यस कार्यक्रमले रिब्दीकोट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रमा वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन सोचसहितको योजना निर्माणको मार्गप्रशस्त गरेको छ। यसै योजनाको माध्यमबाट रिब्दीकोटलाई आत्मनिर्भर, उत्पादक र समृद्ध कृषि पालिकाका रूपमा विकास गरिने अपेक्षा लिइएको छ।








































Comments