रिब्दीकोटमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा-रिब्दीकोट गाउँपालिकाको आयोजनामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा गाउँपालिका भित्रका १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । प्रतियोगिता नयाँटोला स्थित लक्ष्मी आवासीय विद्यालयको खेल मैदानमा सुरु भएको हो ।

 

प्रतियोगिताको उद्घाटन समारोह विशेष रूपमा सम्पन्न भयो । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदको महत्त्व उजागर गर्नुभयाे । उहाले खेलकुदले विद्यार्थीहरूको मानसिक, शारीरिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद प्रवर्द्धन गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाले खेलकुदले व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने र स्वस्थ जीवनशैली कायम राख्न खेल आवश्यक रहेको बताउनुभयाे। गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय सहभागी गराउँदै भविष्यका खेलाडी उत्पादन गर्न विद्यालय स्तरबाटै खेल पूर्वाधार र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने गाउँपालिकाले आवश्यकता महसुस गरेकाले यस तर्फ गाउँपालिकाले याेजना बनाइ रहेको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रवक्ता प्रकाश रायमाझी, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका शिक्षक, खेल प्रशिक्षक, कर्मचारी, खेलाडी विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

 

प्रतियोगिताको उद्घाटन अवसरमा स्काउट विद्यार्थीहरूले आकर्षक मार्च पास प्रस्तुत गर्नु भएको थियाे । उहाहरूले अनुशासन, सहकार्य र राष्ट्रिय भावनाको सन्देश प्रवाह गर्ने किसिमको प्रदर्शन गर्नु भएको थियाे । त्यसैगरी, तेक्वान्दो खेलाडीहरूले आत्मरक्षा, शरीर सन्तुलन तथा विभिन्न कलाहरू प्रदर्शन गर्दै उपस्थित दर्शकहरूको अाफ्नाे प्रस्तुति प्रदर्शन गर्नु भएको थियाे । गाउँपालिकाले खेलकुदको प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ तथा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । 

 

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उच्च जोश र उत्साहका साथ आफ्नो प्रतिभा प्रस्तुत गरिरहेका छन् । प्रतिस्पर्धी भावना बढ्दै गएपछि खेलाडीहरूबीच खेलको स्तर समेत उचाइमा पुगेको छ । प्रतियोगिता आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। विभिन्न विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तिम दिन विशेष कार्यक्रम आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका खेलकुद विकास समितिका संयाेजक दिपक पचभैयाले जानकारी दिनुभएको छ ।

Comments