रिब्दीकोटमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

रिब्दीकोट गाउँपालिकाको आयोजनामा सञ्चालित गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । "स्वास्थ्यका लागि खेलकुद; राष्ट्रका लागि खेलकुद" भन्ने नारासहित आयोजित प्रतियोगिता फागुन १ गतेदेखि ३ गतेसम्म रिब्दीकोट गाउँपालिका-५ स्थित लक्ष्मी आधारभूत विद्यालयको खेलमैदानमा प्रतियाेगिता सम्पन्न भएको हो ।

 

प्रतियाेगितामा रिब्दीकोट गाउँपालिकाभित्रका विभिन्न विद्यालयका खेलाडीहरूले सहभागिता जनाउनु भएको थियाे । प्रतियोगितामा विभिन्न विधाका खेल समावेश गरिएका थियाे  । खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो भने अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।

 

प्रतियोगितामा दुर्गा भवानी माध्यमिक विद्यालय, ढुत्सुङ देउरालीले प्रथम स्थान हासिल गर्‍यो भने कालिका माध्यमिक विद्यालय, बतासे दोस्रो स्थान हासिल गरेको छ ।  आदर्श माध्यमिक विद्यालय, देउराली तेस्रो र सरस्वती माध्यमिक विद्यालय, खस्यौली सान्त्वना स्थानमा रहन सफल भएका छन ।

 

विजेता विद्यालयहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रप्रेम बढाउने बताउनुभयो । उहाँले गाउँपालिकाले खेल क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमकाे अवसरमा गाउँपालिका अध्यक्ष कार्कीले व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई हाैसल प्रदान गर्ने हेतुका साथ नगद पुरस्कार प्रदान गर्नुभएको थियाे । 

 

कार्यक्रमका विशिष्ट अतिथि एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले खेलकुद प्रतिस्पर्धा मात्र नभई, अनुशासन, धैर्य, आत्मविश्वास र सहकार्यको पनि पाठशाला रहेको बताउनुभयाे । प्रतियोगिताले गाउँपालिकाका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर दिएको बताउनुभयो । उहाले आगामी दिनमा थप मेहनत र लगनशील भइ राष्ट्रिय स्तरकाे खेलाडीकाे रूपमा पहिचान बनाउने गरि अग्रसर हुन खेलाडीहरूलाई आग्रह गर्नुभयाे । 

 

कार्यक्रममा गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले प्रतिस्पर्धा जित्नु मात्र लक्ष्य नभई उत्कृष्ट खेल भावना प्रस्तुत गर्नु नै असली सफलता भएको बताउनुभयो । गाउँपालिकाले खेलकुद प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार र अवसर उपलब्ध गराइरहेको जानकारी गराउँदै, भविष्यमा थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगितामा सहभागी सबै खेलाडीहरूको प्रयास सराहनीय रहेको भन्दै उहाँले उज्ज्वल भविष्यको शुभकामना दिनुभयो । साथै, विजयी खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै निरन्तर मिहिनेत र आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो ।

 

प्रतियोगिताको समापन समारोहमा विद्यालयका शिक्षक, अभिभावक, खेल प्रेमी, स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा रिब्दीकाेट गाउँपालिका खेलकुद विकास समितिका संयाेजक दिपक पचभैयाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments