रिब्दीकोटमा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, आदर्श मावि प्रथम
पाल्पा – “सबै महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नारासहित ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिब्दीकोट गाउँपालिकाको आयोजनामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा पालिका स्तरीय महिला कार्यक्रम कार्यान्वयन समिति संयोजक कान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले महिला अधिकार, समान अवसर र सामाजिक न्यायका विषयमा आफ्ना विचार प्रस्तुत गर्दै वक्तृत्वकला प्रदर्शन गर्नुभएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने कला विकास गर्नुका साथै महिला सशक्तिकरणका विषयमा चेतना फैलाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रतियोगिताको उद्घाटन गर्दै समाजमा महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले महिलालाई शिक्षा, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता दिलाउनुपर्नेमा जोड दिनुभयो। “महिला र बालिका सशक्त भए मात्र परिवार, समाज र राष्ट्र सशक्त बन्न सक्छ,” उहाँले भन्नुभयो। उहाँले गाउँपालिकाले महिला सशक्तिकरण, शिक्षा र सामाजिक समानताका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले महिला तथा बालिकाको अधिकार सुनिश्चित गर्न शिक्षा र सचेतना सबैभन्दा महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले विद्यालय तहबाटै विद्यार्थीहरूलाई महिला अधिकार, समान अवसर र सामाजिक न्यायका विषयमा जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । उहाँले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, अभिव्यक्ति क्षमता र नेतृत्व विकास गर्न सहयोग पुग्ने बताउँदै यस्ता प्रतियोगिताले समाजमा सकारात्मक सोचको विकास गराउन पनि मद्दत पुग्ने बताउनुभयो । गाउँपालिकाले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने तथा महिला सशक्तिकरणलाई टेवा पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेल, वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश पोखरेल, वडा नं. ३ का वडा अध्यक्ष नारायण बहादुर केसी, कार्यपालिका सदस्यहरू, कार्यालयका कर्मचारीहरू तथा पालिका स्तरीय अतिरिक्त क्रियाकलाप समितिका पदाधिकारीहरूको समेत आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा पालिका भित्रका १३ वटा विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीहरूले महिला अधिकार, लैङ्गिक समानता, शिक्षा र अवसरको समान पहुँच जस्ता विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । निर्णायक मण्डलले विद्यार्थीहरूको प्रस्तुति, विषयवस्तु, भाषण शैली, आत्मविश्वास तथा सन्देशका आधारमा मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आदर्श माध्यमिक विद्यालय, देउरालीले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने भैरव जनता माध्यमिक विद्यालय, भैरवस्थानले द्वितीय स्थान प्राप्त गरेको छ। त्यसैगरी भवानी माध्यमिक विद्यालय, कुसुमखोलाले तृतीय स्थान हासिल गरेको छ भने लक्ष्मी माध्यमिक विद्यालय, माल्मुलले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमकी अध्यक्ष कान्ता अधिकारीले यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै सामाजिक विषयमा खुला रूपमा बोल्ने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले युवा पुस्ताले महिला अधिकार र समानताको विषयमा जागरूक भएर समाजमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सहभागी अतिथिहरूले पनि नारी दिवसको महत्वबारे चर्चा गर्दै महिला तथा बालिकाको अधिकार, शिक्षा र अवसर सुनिश्चित गर्न सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।








































Comments