रिब्दीकोटको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा थाइराइड सम्बन्धी सम्पूर्ण परीक्षण हुने
पाल्पा-खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र रिब्दीकोट ३ खस्यौलीमा थाइराइड सम्बन्धी सम्पूर्ण परीक्षण सेवा सुरु भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सेवाको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले शुभारम्भ गर्नुभएको हो ।
सेवा शुभारम्भ गर्दै अध्यक्ष कार्कीले थाइराइडको सम्पूर्ण परीक्षण सेवा नुहँदा बिरामीहरुलाई जाँच गर्न अन्यन्त्र जानुपर्ने बाध्यात्मक अबस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले सेवालाई अन्य स्वास्थ्य संस्थामा परीक्षण गर्दाको नतिजा र यहाँको नतिजामा फरक नपर्ने गरी सेवालाई गुणस्तरीय र विश्वासयोग्य बनाउनु पर्नेमा जोड दिनुभयो । रिब्दीकोट गाउँपालिका स्वास्थ्यमा नागरिकको सहज पहुँच वृद्धिलाई प्राथमिकताका साथ काम गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले स्वस्थ नागरिकले मात्र गाउँपालिकालाई योगदान गर्न सक्ने बताउदै स्थानीय स्वास्थ्य संस्थाबाट नै अधिकतम उपचार सेवा प्राप्त गर्ने वातावरणका लागि आफूहरुको नेतृत्व लागि परेको समेत बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सुरु गरिएको थाइराइड सम्बन्धी सम्पूर्ण जाँच सेवाका विषयमा ग्रामीणस्तरसम्म प्रचार गर्नुपर्ने बताउनुभयो । सेवा सुरु भएकोले आगामी दिनमा समयमै रोगको पहिचान गर्न सहज हुनुका साथै आर्थिक रुपमा समेत नागरिकलाई फाइदा पुग्ने विश्वास उहाँले गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले सुरु भएको सेवालाई दीगो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय नसर्ने रोगाको बढ्दो जोखिम रहेकोले थाइराइड जाँच सेवाले नसर्ने रोगबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा २ नं. वडाका वडाध्यक्ष ओम प्रसाद पोख्रेल, गाउँपालिका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीलगायतले सेवा थप भएकोमा खुसी व्यक्त गर्दै पाल्पाको पश्चिम भेगसहित छिमेकी जिल्लाका नागरिकले पनि सहज रुपमा सेवा लिन पाउँदा स्थानीय सरकार भएको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि व्यवस्थापनमा गाउँपालिका निरन्तर लागि परेको जानकारी समेत गराउनुभयो ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.चुडामडी रेग्मीले स्वास्थ्य सेवा विभागबाट थाइराइड जाँच गर्ने मेसिन ल्याउन सफल भउकोले सेवा सुरु गरिएको बताउनुभयो । उहाँले यसमा गाउँपालिका अध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि, व्यवस्थापन समिति, कर्मचारीहरुको साथ र सहयोग रहेको बताउनुभयो । स्थानीय , प्रदेश र संघीय सरकारसंगको समन्वय र सहकार्यमा स्वास्थ्य केन्द्रलाई देशकै एउटा नमुना स्वास्थ्य संस्थाका रुपमा विकास गर्ने लक्षका साथ आफूले काम गरिरहेको प्रमुख रेग्मीले बताउनुभयो । स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष तथा ३ नं. का वडाअध्यक्ष नारायणबहादुर केसीले स्वास्थ्य केन्द्रबाट थाइराइड जाँचको सेवाका लागि स्वास्थ्य बिमा भएका बिरामीका लागि निशुल्क र बिमा नभएका बिरामीलाई न्यूनतम शुल्क तिर्नुपर्ने बताउनुभयो । उहाँले सेवालाई प्रभावकारी बनाउन उपलब्ध पूर्वाधारको व्यवस्थापन गर्ने काम भैरहेको जानकारी दिनुभयो । सेवा ग्राहीको चाँप बढ्दो रहेकोले तोकिएको मापदण्ड अनुसारको सेवा दिन समन्वयात्मक रुपमा अगाडि बढिएको अध्यक्ष केसीको बताउनुभएको पत्रकार सन्तोष ज्ञवालीले जानकारी दिनुभयो ।








































Comments