रिब्दीकोट-६ मा विपन्न वर्गलाई लेयर्स कुखुरा तथा दाना वितरण

पाल्पा-रिब्दीकोट गाउँपालिका वडा नं. ६ मा लुम्बिनी प्रदेश सरकारबाट हस्तान्तरित विपन्न वर्ग उत्थान कार्यक्रम अन्तर्गत लेयर्स (अण्डा दिने) कुखुरा तथा दाना वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयमा आयोजित कार्यक्रममा विपन्न वर्गका स्थानीय नागरिकहरूलाई कुखुरा तथा आवश्यक दानाको वितरण गरिएको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो भने वडा अध्यक्ष प्रकाश रायमाझीको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. ६ का विभिन्न जनप्रतिनिधिहरू, स्थानीय किसानहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर कार्कीले सरकारको उद्देश्य आर्थिक रूपमा पछाडि परेका वर्गलाई आत्मनिर्भर बनाउनु रहेको उल्लेख गर्दै वितरण गरिएका कुखुरा तथा दानालाई उपयुक्त रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विपन्न वर्गलाई आर्थिक रूपमा सशक्त बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम रहेको बताउनुभयो । सरकारले वितरण गर्ने अनुदान तथा सहायता सही तरिकाले उपयोग गर्न सकेमा नागरिकहरूको जीवनस्तरमा सुधार आउन सक्ने बताउदै अनुदानकाे सहि रूपमा प्रयाेग गरि जीवनस्तर उकास्न नागरिकहरूलाई आग्रह गर्नुभयाे ।  रिब्दीकोट गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा वडा अध्यक्ष प्रकाश रायमाझीले गाउँपालिकाको योजना तथा सरकारको नीतिअनुसार विपन्न वर्गलाई रोजगारी र आर्थिक सुधारका अवसरहरू उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो । गाउँपालिकाले स्थानीय स्तरमा सीपमूलक तथा आयआर्जनमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएकाे बताउनुभयाे । वडा कार्यालयका अनुसार, उक्त कार्यक्रमअन्तर्गत वडा नं. ६ का विभिन्न विपन्न परिवारलाई लेयर्स जातका कुखुरा तथा आवश्यक पर्ने दाना निःशुल्क वितरण गरिएको जनाएको छ  । कार्यक्रममार्फत स्थानीय उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

Comments