रिब्दीकोट–३ मा नमुना सहकारीको १७ औं साधारण सभा तथा भवन उद्घाटन सम्पन्न
पाल्पा-रिब्दीकोट गाउँपालिका वडा नं. ३ स्थित नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा, ५ औं अधिवेशन तथा संस्थाको नवनिर्मित भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष लोकनाथ शर्मा गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । सहकारीको वार्षिक गतिविधि, आर्थिक अवस्था, भावी योजना र संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छन ।
नवनिर्मित संस्थागत भवनको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको थियो । समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष कार्कीले सहकारी संस्थाहरू स्थानीय आर्थिक विकासका मेरुदण्ड भएको उल्लेख गर्दै, कृषि, उद्यम र स्वरोजगार प्रवर्द्धनमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीमार्फत कृषक, श्रमिक तथा साना व्यवसायीलाई आर्थिक रूपमा सबल बनाउँदै आत्मनिर्भर समाज निर्माण गर्न सकिने धारणा राख्नुभयो । नवनिर्मित भवनले संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै, गाउँपालिकाले सहकारीसँग सहकार्य गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सी. को विशिष्ट आतिथ्यता रहेको थियो । साथै वडा नं. ३ का जनप्रतिनिधिहरू, सहकारी संस्था सञ्चालक समितिका पदाधिकारीहरू, छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरू, कर्मचारीहरू तथा शेयरधनी सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रम रिब्दीकोट–३ स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सभ्य, भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो । वक्ताहरूले सहकारीको सुशासन, पारदर्शिता र सदस्य केन्द्रित सेवाप्रति प्रशंसा गर्दै संस्थाले समुदायमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पछिल्लो समय देशका केही सहकारीहरूको अवस्था अत्यन्तै कमजोर बन्दै गएको, कतिपय स्थानमा शेयरधनी सदस्यहरूको बचत समेत जोखिममा परेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । तर रिब्दीकोट गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारीहरू त्यस प्रकारको समस्याबाट मुक्त रहनु सकारात्मक पक्ष भएको बताउँदै, यसलाई निरन्तरता दिन सहकारीहरूले अझ बढी रचनात्मक, उत्पादनमूलक र सदस्यको आयआर्जन बढाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । सहकारी भनेको सहकार्य र विश्वासमा आधारित संस्था भएकाले स्थानीय सरकार, सहकारी र सदस्यबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनहरूमा सहकारीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।








































Comments