रिब्दीकोट-३ खस्यौलीमा शहीद कैलाश स्मृति तथा कृषि संकलन केन्द्र भवनको शिलान्यास

पाल्पा, फागुन १ – कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीय कृषकहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने लक्ष्यसहित रिब्दीकोट गाउँपालिका वडा नं. ३, खस्यौलीमा "शहीद कैलाश स्मृति तथा कृषि संकलन केन्द्र" भवनको शिलान्यास गरिएको छ । कार्यक्रम लोकनाथ शर्मा गौतमको अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले भवनको शिलान्यास गर्नुभएकाे हाे । शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. ३ का वडा अध्यक्ष नारायण बहादुर के.सी., विभिन्न जनप्रतिनिधिहरू, सम्बन्धित शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै किसानलाई सशक्त बनाउनका लागि कृषि संकलन केन्द्रको स्थापना महत्वपूर्ण हुने बताउनुभयो । उहाँले कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादनको सही व्यवस्थापन गर्न सकियो भने किसानहरूलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभयो । साेही अनुरूप गाउँपालिकाले कृषिलाई आधुनिक प्रविधिसँग जाेडि आर्थिक सवलीकरणकाे माध्यमबाट नागरिकहरूकाे जीवनस्तर सुधार ल्याउन कृषि संकलन केन्द्रको शिलान्यास गरिएको बताउनुभयो । रिब्दीकोट गाउँपालिकाले हाल कृषिलाई मुख्य आधार मानेर विकासका योजनाहरू अघि बढाइरहेको छ । कृषि उत्पादनलाई आधुनिकिकरण गर्दै स्थानीय कृषकहरूको आर्थिक स्तर सुधार गर्न यो संकलन केन्द्र निर्माण कार्यको थालनी गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो । शहीद कैलाश स्मृति तथा कृषि संकलन केन्द्रले कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्ने, उत्पादनको उचित व्यवस्थापन गर्ने, भण्डारण तथा बजारीकरणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको बताउदै कृषि क्षेत्रको समृद्धिका लागि यो केन्द्र मार्गदर्शक बन्ने अपेक्षा गरिएको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले स्थानीय सरकारले कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै किसानहरूको हितका लागि योजनाहरू अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना पूरा गर्न यस्ता संकलन केन्द्रहरू उपयोगी हुने बताउदै गाउँपालिकाले यस्ता याेजनालाई प्राथमिकता दिएको बताउनुभयो । 

 

कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष नारायण बहादुर के.सी. ले स्थानीय तहमा कृषिलाई प्राथमिकता दिँदै यस्ता संरचनात्मक विकास योजनाहरू अघि बढाइरहेको बताउनुभयो । उहाँले कृषकहरूलाई आवश्यक पर्ने सुविधाहरू सहज रूपमा उपलब्ध गराउनका लागि संकलन केन्द्र महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले पनि स्थानीय उत्पादनलाई संगठित बनाउने, कृषि सामग्रीको सहज आपूर्ति गर्ने, उत्पादन बजारीकरण गर्ने जस्ता पक्षलाई प्रभावकारी बनाउन यस्ता केन्द्रहरू आवश्यक रहेको बताएका थिए ।

Comments