रिब्दीकोट गाउँपालिकामा ५० दिने सडक मर्मत तथा संभार तालिम

पाल्पा — रिब्दीकोट गाउँपालिकाको आयोजना र ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजी प्रा.लि., बुटवल, रुपन्देहीको सहजीकरणमा ५० दिने सडक मर्मत तथा संभार तालिम शुरू भएको छ । "श्रमको सम्मान, राष्ट्रको अभियान" भन्ने नारालाई आत्मसात् गर्दै सञ्चालन भएको तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना र जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ । तालिममा सडक मर्मतका आधुनिक प्रविधि, सामग्रीको सही उपयोग र सडकको दिगो संभारका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिने छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की तालिमकाे समुदघाटन गर्नुभएको हाे । 

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्कीले स्थानीयस्तरमा सीपमूलक तालिमले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयाे । ग्लोबल कलेजका प्रतिनिधिले प्रशिक्षार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनुका साथै स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयाे । तालिममा सहभागीहरूले तालिमबाट प्रयाप्त ज्ञान, सीप आर्जन गर्नुपर्ने र आर्जन गरेको ज्ञान सीपका माध्यमबाट आफुलाइ दक्ष बनाइ समय परिस्थितिको माग अनुसार काममा निपुर्ण हुने गरि अग्रसर हुनुपर्ने कुरामा गाउँपालिका अध्यक्षले कार्की जाेड दिनुभयाे ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले तालिमले स्थानीय युवाहरुलाई रोजगारमूलक सीप प्रदान गर्नका साथै गाउँपालिकाको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयाे । तालिमले सडक मर्मत तथा संभारमा दक्ष जनशक्ति उत्पादन गर्ने र गाउँपालिका भित्रका पूर्वाधारलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । 

 

तालिममा सडक मर्मत र संभारका लागि आवश्यक आधुनिक उपकरणहरूको प्रयोग, मर्मत प्रक्रियाका चरणहरू, तथा दिगो विकासका लागि आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ ।ग्लोबल कलेज अफ इन्जिनियरिङ टेक्नोलोजीका विशेषज्ञ प्रशिक्षकहरूले तालिमको सहजीकरण गर्नेछन्। तालिमका सहभागीहरूलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्दै उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गरिने गाउँपालिकाले जनाएको छ । 

 

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत  मणि प्रसाद खनाल, वडा अध्यक्षहरु एवं सम्बन्धित शाखाका शाखा प्रमुखहरु, सहयोगी संस्थाका इन्जिनियरहरु लगायत रिब्दीकोट गाउँपालिकाभित्रका ८ ओटा वडाहरुका तालिमका लागी सुचिकृत श्रमिकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रम रोजगार सेवा केन्द्र संयोजक दुर्गा पछाइको संचालनमा सम्पन्न भएको थियाे ।

Comments