रिब्दीकोट गाउँपालिकामा टनेल खेती प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
पाल्पा-रिब्दीकोट गाउँपालिकाले गाउँ क्षेत्रका कृषकहरूको आयआर्जनमा वृद्धि गर्दै कृषि प्रणालीलाई आधुनिक बनाउन विशेष योजना लागू गर्दै आएको छ । यसैक्रममा, गाउँपालिकाको आयोजना, हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, र ग्रामीण आर्थिक विकास संघ (REDA) को प्राविधिक समर्थनमा "टनेल निर्माण तथा टनेलभित्र तरकारी खेती प्रवर्द्धन" सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम रिब्दीकोट गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा गाउँपालिकाको आर्थिक विकास समिति संयोजक ओम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की रहनु भएको थियाे । त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जी.सी., वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सम्बन्धित शाखाका कर्मचारी, तथा टनेल निर्माण सम्पन्न गरिसकेका र आगामी टनेल निर्माणका लागि छनोट भएका कृषकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर कार्कीले अभिमुखीकरण कार्यक्रमले टनेलभित्र गरिने खेतीलाई रोग र किराको प्रकोपबाट जोगाउन, बेमौसममा तरकारी उत्पादन गर्न र कृषकहरूको आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रको दीगो विकासका लागि गाउँपालिकाले निरन्तर कार्य गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रमका वक्ताहरूले टनेल खेतीको सम्भावना र फाइदाबारे विशेष जोड दिनुभएको थियो ।
गाउँपालिकाले स्थानीय कृषकहरूलाई सशक्त बनाउन र आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न निरन्तर काम गर्ने योजना बनाएको छ । यसअन्तर्गत, टनेल खेतीको विस्तारका लागि आर्थिक र प्राविधिक सहयोगलाई निरन्तरता दिने, कृषकहरूलाई तालिम प्रदान गर्ने र आवश्यकताअनुसार प्राविधिक विशेषज्ञ उपलब्ध गराउने कार्यमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार, “गाउँपालिकाले कृषि प्रणालीलाई समय सापेक्ष बनाउन आधुनिक प्रविधि र ज्ञानको प्रयोगलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । टनेल खेती प्रवर्द्धन कार्यक्रमले कृषकहरूको आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान दिने अध्यक्ष कार्कीले बताउनुभयो ।








































Comments