रिब्दीकोट गाउँपालिकामा एच.पि.भि. खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाल्पाको रिब्दीकोट गाउँपालिकाको आयोजनामा एच.पि.भि. खोप अभियानको पालिका स्तरीय खोप समन्वय समिती तथा विद्यालयका प्रधानाध्यापकहरूको गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रम रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय, खस्यौलीमा सम्पन्न भएको हाे । कार्यक्रममा खोप समन्वय समितिका संयोजक तथा रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीको अध्यक्षता भएको हाे । कार्यक्रमका अध्यक्ष एवम गाउँपालिका अध्यक्ष कार्कीले गाउँपालिकाले एच.पि.भि. खोप अभियानले बालबालिकालाई घातक रोगबाट जोगाउने महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यो अभियानलाई सफल बनाउन हरेक विद्यालय, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी र स्थानीय समाजको पूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो । खाेप अभियानलाई पुर्ण रूपमा सफल बनाउन सम्बन्धि सम्पूर्णलाई निर्देशन दिनु भएको छ । 

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यज्यूहरू, सक्रिय राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाभित्रका मावि तथा आवि विद्यालयका प्रधानाध्यापकहरू, कार्यालयका कर्मचारीहरू लगायत सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको स्वागत मन्तव्य तथा सि.अ.न.मि. कमला लाम्टाङेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार रिब्दीकोट गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत जम्मा ६ सय ६१ जना विद्यार्थीहरू माघ २८ गतेदेखि सञ्चालन हुने खोप अभियानमा समावेश हुने बताउनुभयो ।

Comments