रिब्दीकोट गाउँपालिकाले तोक्यो बेसारको न्यूनतम समर्थन मूल्य, कृषकलाई राहत
गाउँपालिकाले बजार सुनिश्चित गर्दै सहकारीमार्फत बिक्रीको प्रक्रिया अघि बढाउने
पाल्पा – रिब्दीकोट गाउँपालिकाले स्थानीय कृषकहरूले उत्पादन गरेको बेसारको उचित मूल्य सुनिश्चित गर्न बसुन्धरा एग्रो प्रा.लि., काठमाडौंसँगको छलफलपछि न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । अब कृषकहरूले सहकारीमार्फत उत्पादन बिक्री गर्न सक्नेछन् ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अनुसार बजार सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय लिएको जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण कार्की,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल,वडा अध्यक्षहरू सहित पालिकाका पदाधिकारी, कृषि विज्ञ, स्थानीय सहकारी प्रतिनिधि तथा कृषकहरूको उपस्थिति रहेको थियो ।
बेसार खेती गर्दै आएका कृषकहरूले विगतमा बजार नपाएर समस्या भोग्नुपरेको थियो । बिचौलियाको चलखेलका कारण उचित मूल्य नपाउँदा किसानहरू निरुत्साहित बन्न थालेका थिए । साेही समस्यालाई मध्यनजर गर्दै रिब्दीकोट गाउँपालिकाले सहकारीमार्फत संकलन प्रणाली लागू गरी न्यूनतम मूल्य निर्धारण गर्ने निर्णय लिएको हो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले यो निर्णयले कृषकहरूलाई राहत मिल्ने बताउनुभयो । पालिकाका किसानहरूले उत्पादन गरेको बेसार उचित मूल्यमा बिक्री हुन नसक्दा मर्कामा पर्नु परेको परिस्थितिमा अब सहकारीमार्फत बिक्री प्रणाली लागू गर्दा किसानहरूले उचित मुल्य पाउने बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानहरूको जीवनस्तर सुधार गर्ने गाउँपालिकाकाे मुख्य उद्देश्य रहेको बताउनुभयो ।
गाउँपालिकाले निर्धारण गरेको मूल्यअनुसार सम्बन्धित कृषकहरूले आ-आफ्नो वडामा रहेका कृषि सहकारीहरूमा सम्पर्क गरी उत्पादन बिक्री गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले बताउनुभयो । गाउँपालिकाको यो कदमले कृषि उत्पादनलाई थप प्रवर्द्धन गर्ने विश्वास लिएको बताउनुभयो । कृषकहरूले आफ्नो उत्पादन बिक्री गर्न गाउँपालिकाले तोकेको सहकारीहरूसँग सम्पर्क गर्नुपर्नेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक सुधारमा टेवा पुर्याउने विश्वास लिएर प्रमुख प्रशासकिय अधिकृत खनालले बताउनुभयो ।








































Comments