रिब्दीकोट गाउँपालिकाले कृषकलाई मौरीघार वितरण

पाल्पाकाे रिब्दीकोट गाउँपालिका वडा नं. ३, खस्यौली, पाल्पामा सञ्चालित मौरीपालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मौरीघार वितरण गरिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार वडा कार्यालय खस्यौली, पाल्पामा आयोजित एक समारोहका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रमकाे अध्यक्षता वडा नं. ३ का अध्यक्ष नारायण बहादुर के.सी.ले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्की रहनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. ३ का जनप्रतिनिधिहरू, कृषि तथा पशु शाखाका कर्मचारीहरू लगायत छनोट भएका कृषकहरू उपस्थिति रहेको थियाे ।

कार्यक्रममा वडा न ३ का २२ जना कृषकलाई प्रति कृषक ५ वटाका दरले मौरीघार वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर के सीले बताउनुभयो । मौरीपालनलाई व्यवसायिक कृषि प्रणालीमा रूपान्तरण गर्दै किसानहरूको आर्थिक स्थिति मजबुत बनाउने उद्देश्यले माैरी घार वितरण गरिएको उहाले बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाको प्रमुख आयस्रोत कृषि रहेको र यसलाई अझ व्यवस्थित तथा व्यवसायिक बनाउन कृषकलाई माैरीघार वितरण गरिएको बताउनुभयो । उहाँले कृषकहरूलाई केवल आत्मनिर्भर मात्र नभई आधुनिक प्रविधि तथा वैज्ञानिक तरिकाबाट व्यवसायिक उत्पादनतर्फ उन्मुख गराउने योजनाका साथ गाउँपालिकाले विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । मौरीपालनलाई कृषि व्यवसायको अभिन्न हिस्सा बनाउँदै यसलाई व्यावसायिक रूपमा अघि बढाउन कृषकहरूलाई आवश्यक तालिम, अनुदान तथा प्रविधिको व्यवस्थापन गर्ने बताउनुभयो । 

 

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले कृषिमा व्यवसायिकरण आवश्यक रहेको भन्दै मौरीपालनले कृषकहरूको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाले अनुदानका यस्ता कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो । मौरीपालनले प्राकृतिक वातावरण सन्तुलनमा समेत फाइदा पुर्‍याउने भएकाले यसलाई प्रवर्द्धन गर्न आग्रह गर्नुभयो । कृषकहरूलाई गाउँपालिकाले निरन्तर प्रोत्साहन गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  मणिप्रसाद खनालले मौरीपालनलाई आधुनिक कृषि प्रणालीसँग जोड्दै कृषकहरूको आम्दानी वृद्धि गर्न सकिने उल्लेख गर्नुभयो । मौरीपालनले कृषिमा परम्परागत सोचलाई बदल्न र नवीन प्रविधि अपनाउन मद्दत गर्ने बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि नीतिगत योजना बनाइरहेको जानकारी गराउँदै, कृषकहरूसँग निरन्तर समन्वय रहने बताउनुभयो । साथै, उत्पादन वृद्धिका लागि स्थानीयस्तरमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिने बताउनुभयो  । स्थानीय कृषकहरूले गाउँपालिकाले सञ्चालन गरेको यस कार्यक्रमबाट लाभान्वित भएको बताउनु भएको थियाे ।  

Comments