रिब्दीकाेट गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

पाल्पा-जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिब्दीकोट गाउँपालिकाको आयोजना तथा पिपुल्स क्रीयशन, प्रा.लि. तानसेन पाल्पाको सहजिकरणमा सम्पन्न भएको हाे ।  कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष  नारायण बहादुर कार्कीकाे अध्यक्षता सम्पन्न भएको हाे । 

 

कार्यक्रममा गाउँपालिकावासी सेवाग्राही र जनप्रतिनिधिका बिचमा गाउँपालिकाको सेवा, चालु वर्षका योजना, विषयगत कार्यालयका सेवाप्रवाहमा नागरिकको गुनासो, स्रोतको परिचालन, उपलब्धी र कमजोरीका बारेमा व्यापक रुपमा चर्चा भयो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रवक्ता, प्रकाश रायमाझी, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कार्यालयका कर्मचारीहरु, पत्रकारहरु र सुरक्षाकर्मीहरु समेतको सहभागितामा सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रममा सहभागीहरूले शिक्षा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट,उपभाेक्ता समिति मार्फत याेजनाका काम गर्दा भाेग्नु परेका समस्या लगायतका विषयमा गुनासो राखेका थिए ।

 

कार्यक्रममा बोल्दै रिब्दीकाेट गाँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले सेवाग्राहीका गुनासालाई स्वागत गर्दै गाउँपालिकाले आगामी दिनमा सेवाप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा नागरिकका असन्तुष्टिहरुको सम्बोधन गर्ने र पालिकाको सेवालाई प्रभावकारी बनाउने बताउनुभयो । अध्यक्ष कार्कीले आफूहरुले सकेसम्म गाउँपालिकाको स्रोत र साधनको समुचित प्रयोग गरि विभिन्न योजना अगाडी सारेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।

 

कार्यक्रममा नागरिकबाट उठेका सवालमा वडा न ४ का वडा अध्यक्ष साेम कुमार कार्की,वडा न १ का वडा अध्यक्ष चिरञ्जीवी पाेखरेल,इन्जिनियर पुरन कार्की,कृषि शाखाका रन्जिव कुवर,याेजना शाखाका प्रमुख काशीनाथ आर्चाय लगाएतले जवाफ दिनुभएको थियाे । कार्यक्रममा कार्यालयको चालू आ.व. २०८०/०८१ को कार्य प्रगती विवरण प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले प्रस्तुति गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहजकर्ता पत्रकार बिष्णु घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियाे । 

 

Comments