रिब्दीकोट गाउँपालिका वडा नं. ३ मा दुहुना गाई भैँसीलाई पोषण दाना वितरण
रिब्दीकोट गाउँपालिका वडा नं. ३ का दुहुना गाई र भैँसी पाल्ने कृषकहरूलाई पोषण दाना वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत पशु पोषण दाना किसानसँग साझेदारी कार्यक्रम अन्तर्गत गरिएको हो । कार्यक्रम रिब्दीकाेट गाउँपालिका वडा न ३ का वडाध्यक्ष नारायण बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको हाे ।
कार्यक्रमकाे उद्घाटन रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष कार्कीले कृषकहरूलाई देशका अन्नदाता र उत्पादनका मुख्य आधार स्तम्भको रूपमा परिभाषित गर्दै कृषकहरूको सशक्तिकरण बिना देशको समृद्धि सम्भव नभएको उल्लेख गर्नुभयो । उहाँले कृषकहरूलाई परम्परागत कृषि प्रणालीमा मात्र आश्रित नभई, समयअनुसार परिवर्तनशील बन्न र व्यावसायिक कृषिको अभ्यास गर्न प्रेरित गर्नुभयो । गाउँपालिकाले कृषकहरूको आवश्यकतालाई सदैव प्राथमिकतामा राख्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रमले दुग्ध उत्पादन व्यवसायमा संलग्न कृषकहरूको लागि विशेष महत्व राखेकाे छ । कृषकहरूलाई उहाहरूको दुहुना गाई र भैँसीहरूको उत्पादन क्षमतामा वृद्धि ल्याउन आवश्यक पोषण दाना उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत काशीनाथ आचार्यले बताउनुभयो । कार्यक्रममा ५८ जना कृषकहरूलाई प्रति कृषक ६० किलोग्रामका दरले मकै वितरण गरिएको छ । मकै पोषणको राम्रो स्रोत भएकाले यसले दुग्ध उत्पादनमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ । पालिका स्तरमा गरिएका यस्ता कार्यक्रमहरूले स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउने मात्र नभई, उनीहरूको आर्थिक अवस्थालाई सबल बनाउने दिशामा समेत योगदान दिने विश्वास लिइएकाे वडा अध्यक्ष नारायण बहादुर केसीले बताउनुभयो । कार्यक्रममा वडा नं. ३ का जनप्रतिनिधिहरू, स्थानीय कृषकहरू र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियाे ।








































Comments