रिब्दीकोट गाउँपालिका गाउँ सभाको १६औं अधिवेशन: प्रगति विवरण, विधेयक प्रस्तुति र दोस्रो बैठक सम्पन्न
पाल्पा – रिब्दीकोट गाउँपालिकाको १६ औं गाउँ सभा अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा वडाध्यक्षहरू र विषयगत समितीका संयोजकहरूले आफ्नो कार्यक्षेत्रका प्रगति विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ र २०८०/०८१ का गतिविधिहरूको समीक्षा गरेका छन् ।
सभामा प्रत्येक वडाका वडाध्यक्षहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नु भएको छ । प्रस्तुत विवरणले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, महिला सशक्तीकरण, वातावरण संरक्षणलगायतका विविध क्षेत्रमा गरिएका गतिविधिहरूको स्थिति प्रस्ट्याउनु भएको थियाे । वडाध्यक्षहरूले योजनाहरूको कार्यान्वयनमा आइपरेका चुनौतीहरू, स्थानीय जनताको प्राथमिकताहरू, र आगामी दिनमा सुधारका लागि आवश्यक रणनीतिहरूको चर्चा गर्नु भएको थियाे । साथै, चालु आर्थिक वर्षमा अपुग रहेका योजनाहरूलाई समयमै सम्पन्न गर्नका लागि दिगो कदम चालिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
बैठकमा गाउँपालिकाका विभिन्न विषयगत समितीका संयोजकहरूले आर्थिक वर्ष २०८०/०८१ का गतिविधिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे । कार्यपत्रमा शिक्षा क्षेत्रमा विद्यालयका भौतिक संरचनाको सुधार, विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम र डिजिटल शिक्षाको प्रवर्द्धनका प्रयासहरूको चर्चा गर्नु भएको थियाे । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, निःशुल्क औषधि वितरण, र जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियाे । कृषि क्षेत्रतर्फ किसानहरूका लागि प्राविधिक तालिम, सिंचाइ परियोजनाहरू र कृषिउपज बजार व्यवस्थापनका पहलहरू सफलताको रूपमा प्रस्तुत गर्नु भएको थियाे । सामाजिक न्याय र समावेशीकरणका क्षेत्रमा महिला, दलित, र विपन्न वर्गका लागि सञ्चालन गरिएका विशेष योजनाहरूको समेत उल्लेख गर्नु भएको थियाे ।
बैठकको अर्को मुख्य विशेषता तीन वटा विधेयकको प्रस्तुति रहेकाे थियाे । विधेयकहरू सम्बन्धित क्षेत्रका सुधार र नयाँ कानुनी संरचना तयार गर्नका लागि पेस गरिएका हुन् । यी विधेयकमा रहेका मस्यौदाहरूमा छलफल गरी थप सुधार र सुझावसहित तेस्रो बैठकमा पारित गर्ने लक्ष्य राखिएको छ।
बैंककमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बैठकले पालिकाको विकासमा दिगो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै योजनाहरूको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयाे । १६ अधिवेशन बैठकमा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, सभाका सचीव एवम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल एवं सभाका सदस्यहरु लगायत गाउँ कार्यपालिकाका कर्मचारीहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा कार्यक्रम सम्पन्न भएको हाे । सभामा ३ वटा विधेयकहरु पेस गरि दोश्रो बैठक समापन भएको छ भने तेश्रो बैठक यही माघ १५ गते बस्ने छ ।








































Comments