पत्रकार महासङ्घ पाल्पाद्वारा पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृह आक्रमणविरुद्ध विरोधसभा

पाल्पा, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।

 

सभामा महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले  घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । अध्यक्ष तिमिल्सेनाले मुलुक परिवर्तमान पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षाका लागि ठोस् कदम चाल्न पनि सरकारलाई आग्रह गरे । उनले पत्रकार महासंघ केन्द्रले चरणवद्ध आन्दोलनका कार्यक्रम तय गरेकाले सोही अनुसार जिल्लाका पत्रकारहरु सहभागी हुने बताए । अध्यक्ष तिमिल्सेनाले पत्रकारहरुलाई निर्धक्का साथ समाचार संकलनमा लाग्न आग्रह गर्दै कही कतै समस्या आए पत्रकार महासंघ श्रमजिवी पत्रकारहरुको पक्षमा खडा हुने समेत बताए ।   

 

सभामा महासंघका निवर्तमान अध्यक्ष रेखीराम राना,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विक, महासंघका संस्थापक सचिव भरत शर्मा,महासंघका सचिव रामचन्द्र रायमाझीले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे । उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत बताए ।

 

विरोध सभामा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए । घटनाको विरोधमा महासंघ केन्द्रीय समितिले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वा गरेको छ । त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।



Comments