पत्रकार महासंघ पाल्पा शाखाको ३४ औँ स्थापना दिवस
पाल्पा-नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३४ औँ स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गरेको छ । कार्यक्रममा पत्रकार स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा कलम चलाउन राजनीतिक दल तथा कुनै पनि शक्तिकेन्द्रले अंकुश लगाउन नहुनेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको ३४ औँ स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारिता कुनै निश्चित विचार, आस्था वा दलको छायाँमा सीमित हुन नहुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले महासंघ पाल्पाको विगत गौरवपूर्ण रहेको स्मरण गर्दै उत्तरदायी, अनुशासित र मर्यादित पत्रकारिता मार्फत त्यो गरिमा कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारिता सशक्त हुँदा लोकतन्त्र पनि बलियो हुने उल्लेख गर्दै पत्रकारितामा राजनीतिक गन्ध आउन दिन नहुने बताउनुभयो । समानुपातिक विज्ञापन नीति व्यवहारमा कार्यान्वयन हुन नसक्दा स्थानीय मिडिया संकटमा परेको उल्लेख गर्दै उहाँले उक्त नीति कार्यान्वयनका लागि महासंघले सक्रिय पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले समाज र देशको वास्तविक चित्र कोर्ने पत्रकारहरूले आफ्नो चरित्र र पेशागत आचरणमा निष्पक्षता कायम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार महासंघको गरिमा जोगाउँदै पत्रकारलाई दलले अंकुश लगाउन नहुनेमा जोड दिँदै भन्नुभयो, “गलत कुराको धज्जी उडाउने आँट पत्रकारले गर्न सक्नुपर्छ, कुनै दल विशेषको विचारभन्दा माथि उठेर कलम चलाउनुपर्छ ।” पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले महासंघलाई जीवन्त र प्रभावकारी बनाउन संस्थागत मजबुती आवश्यक रहेको बताउनुभयो । राजनीतिक दल र महासंघबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले पत्रकारिताको स्वतन्त्रता जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका जिल्ला उपाध्यक्ष सुमन गैरेले राजनीतिक कारणले केही पत्रकार दबाबमा पर्ने गरेको भन्दै पत्रकारलाई दलीय आस्थाभन्दा स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिनुभयो । यस्तै नेकपा तर्फबाट यादव बहादुर रायमाझी, राप्रपाका प्रतिनिधि रमेश विरजंग राणाले पत्रकारिता जस नपाउने पेशा भए पनि दबाब र प्रभावबाट टाढा रहेर आफ्नो धर्म निर्वाह गर्न सके सफल हुने धारणा व्यक्त गर्नुभयो । स्थापना दिवसको अवसरमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्वती दर्लामी चिदी र माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले स्थानीय तहले स्थानीय मिडियाको संरक्षणमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । सत्य, तथ्य र समयमै सूचना सम्प्रेषण गर्न सके पत्रकारिताको विश्वसनीयता अझ बढ्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की र महासंघका संस्थापक सचिव भरत शर्माले पत्रकारिता बिना विकास, सुशासन र पारदर्शिताको परिकल्पना सम्भव नरहेको बताए ।
महासंघका पूर्व अध्यक्षहरू गोविन्द भट्टराई, झपेन्द्र गहिरे र भगवान भण्डारीले पाल्पाली पत्रकारिताको इतिहास, योगदान तथा नागरिक समाजको रूपमा महासंघले खेलेको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँहरूले स्थानीय मिडियाको संरक्षणमा स्थानीय सरकार र सरोकारवाला निकायले अझ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगत र वर्तमान अवस्थाको चित्रण गर्दै मिडियाको बदलिँदो प्रवाह बुझ्न पत्रकार स्वयं सचेत हुनुपर्ने बताउनुभयो । पत्रकार र कन्टेन्ट राइटरबीचको भिन्नता स्पष्ट गर्दै गहिरो अध्ययन र अनुसन्धानमा आधारित पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।








































Comments