पश्चिम पाल्पामा कांग्रेसको जनलहर बढ्दो, दुई दर्जन युवाहरु प्रवेश
पाल्पा-नेपाल तरुण दल रैनादेवी छहरा गाउँपालिकाद्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित बृहत् तरुण भेला कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रैनादेवी छहराका दुई दर्जनभन्दा बढी युवाहरुले विभिन्न राजनीतिक दल परित्याग गर्दै नेपाली कांग्रेसप्रति आफ्नो विश्वास प्रकट गरेका हुन् । कार्यक्रममा नवप्रवेशी युवाहरुले भ्रम, अस्थिरता र भीडको राजनीतिले देशको भविष्य नबन्ने निष्कर्षसहित स्पष्ट विचार, नीति र सिद्धान्त बोकेको दल नेपाली कांग्रेसमै आफ्नो राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेको बताएका छन् । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस जनताको भरोसाको केन्द्र बनेको र आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन संगठित रूपमा लाग्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरे ।
नेपाल तरुण दल रैनादेवी छहरा गाउँपालिका कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका मूल निर्वाचन प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राना, निर्वाचन अनुगमन समितिका संयोजक हरि नेपाल तथा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति एवं पाल्पा क्षेत्र नं.२ का प्रतिनिधि सभा उम्मेदवार हिमाल दत्त श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा सहिदहरुको तस्बिरमा माल्यार्पण तथा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । साथै प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याएका ११ जना प्रजातान्त्रिक सेनानीलाई सम्मान गर्दै उनीहरुको त्याग र बलिदानको स्मरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेताहरुले प्रजातन्त्र र संविधानको रक्षा गर्न युवाशक्ति निर्णायक हुने बताउँदै परिवर्तनको संवाहक युवाहरु नै भएको उल्लेख गरे । नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी विकासको पक्षधर पार्टी भएको भन्दै युवाहरुको सहभागिताले पार्टी अझ बलियो बन्दै गएको उनीहरुको भनाइ थियो । नेपाल तरुण दल रैनादेवी गाउँपालिका कार्यसमिति सभापति ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल पाल्पाका जिल्ला सभापति मेजर सिंह कार्की लगायत विभिन्न तहका तरुण नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त तरुण भेलाले रैनादेवी छहरा क्षेत्रमा कांग्रेसप्रतिको जनआकर्षण बढ्दै गएको संकेत गरेको छ भने आगामी निर्वाचनमा पार्टीलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले बताएका छन् । उनले पाल्पा क्षेत्र नं.२ का अरु उम्मेदवार सँग हिमाल दत्त श्रेष्ठलाई तुलना समेत गर्न नमिल्ने बताएका छन् ।








































Comments