प्रेस चौतारी पाल्पाले भित्तेपात्रो सार्वजनिक

प्रेस चौतारी नेपाल पाल्पा शाखाले चियापान, २०८१ सालको भित्तेपात्रो सार्वजनिकीकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पाल्पाली पत्रकारितामा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समय श्रमजीवि पत्रकारहरुले भोग्नु परेको समस्या बारे नेकपा एमाले परिचित रहेको र त्यसको समाधानका लागि पार्टीले गम्भीर रुपमा लिएको बताउनुभयो ।

 

पत्रकारहरुलाई आफ्नो आचारसंहितामा रहेर सत्य तथ्यमा अडिक भएर पत्रकारितामा टिक्ने वातावरण निर्माणका लागि सबै पक्ष जिम्मेबार बन्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ थियो ।प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले प्रेस चौतारी पाल्पाले वार्षिक गतिविधिको तस्वीरहरु समेटेर प्रतिवेदनका रुपमा भित्तेपात्रो प्रकाशन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पाल्पा चौतारीको पछिल्लो नेतृत्वले नमुना कार्य गरेको समेत बताउनुभयो । पाल्पाली पत्रकारिता अन्य जिल्लाको भन्दा मर्यादित रहेको बताउँदै सहइन्चार्ज तिमिल्सेनाले देखिएका सानातिना समस्या सम्बन्धित सबैको समन्वय र सहकार्यमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले संगठन बलियो बनाउन प्रेस चौतारी पाल्पाले सिर्जनशील रुपमा रचनात्मक कार्य गर्दै आएको बताउनुभयो । उहाँले पाल्पामा खोज पत्रकारिताको अवस्था कमजोर भएकोले यस विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय मिडियाहरु संकटग्रस्त अवस्थामा पुगेको बताउदै अध्यक्ष रानाले यसको सुधारका लागि समानुपातिक विज्ञापन नीतिको अक्षरस कार्यान्वयनमा दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्यालले पत्रकारिता पेशा नै धरापमा पर्ने अवस्था रहेको बताउनुभयो ।

 

उहाँले सबै मिडियाहरु संकटबाट गुज्रिएकोले श्रमजीवि पत्रकारहरु मर्कामा परेको बताउनुभयो । मिडिया र पत्रकारिता जोगाउन छलफलमा जुट्नु पर्ने उपाध्यक्ष अर्यालको भनाइ थियो ।प्रेस चौतारीले संगठनले सम्पादन गरेका गतिविधिहरुको तस्वीर समेटेर वार्षिक रुपमा भित्ते पात्रो प्रकाशन गर्दै आएको छ । प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता तथा सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको कार्यक्रमा नेकपा एमालेका नेताहरु, पेशागत संगठनका प्रमुख, जनप्रतिनिधि, पत्रकार तथा चौतारीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments