परिणाम स्वीकार्दै हिमाल श्रेष्ठले व्यक्त गरे मतदाता र शुभेच्छुकप्रति धन्यवाद
पाल्पा-प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस पाल्पाले मतदाता, सुरक्षाकर्मी, कर्मचारी तथा सञ्चारमाध्यमप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले शुक्रबार जारी गरेको धन्यवाद ज्ञापन वक्तव्यमा जेठी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई विशेष परिस्थितिमा सम्पन्न निर्वाचनलाई भयमुक्त, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सञ्चार माध्यम तथा सम्बन्धित सबै निकायप्रति कृतज्ञता व्यक्त गरिएको छ । वक्तव्यमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाल्पा जिल्लाका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत प्रदान गर्ने, चुनावी अभियानमा खटिने तथा शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण मतदाता, पार्टीका नेता–कार्यकर्ता र समर्थकप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ ।
कांग्रेसका अनुसार सामूहिक प्रयासका कारण पाल्पा क्षेत्र नं. १ मा ३४ वर्षपछि ३८ वर्षीय सन्दीप राना विजयी भएका छन् । उक्त ऐतिहासिक विजयका लागि मतदाता र समर्थकहरूप्रति आभार व्यक्त गर्दै विजयी सांसद रानालाई सफल कार्यकालको शुभकामना समेत दिइएको छ । त्यसैगरी पाल्पा क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सभापति श्रेष्ठले पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने अवसर दिएकोमा पार्टीको केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त माया, सद्भाव र समर्थनका कारण आफू आशावादी भए पनि अपेक्षित मत प्राप्त गर्न नसक्दा विजयी हुन नसकेको उल्लेख गरिएको छ ।
वक्तव्यमा जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक परिस्थितिले नागरिकको मनोविज्ञानमा परेको असर र तत्कालीन सत्ता समीकरणप्रति देखिएको असन्तुष्टिको प्रभाव निर्वाचन परिणाममा देखिएको संकेत गरिएको छ । नेपाली कांग्रेस पाल्पाका पूर्व सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक वीर बहादुर रानाले कांग्रेसले आत्मसमीक्षा गर्दै परिवर्तन र सुधारको बाटोमा अघि बढ्ने बताउँदै नागरिकका हक, अधिकार र हितको पक्षमा दृढतापूर्वक उभिँदै क्रमशः जनताको विश्वास जित्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम पाल्पा क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव जिसिको अध्यक्षता र सचिव कृष्ण आलेको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका पदाधिकारी एवं क्रियाशील कार्यकर्ताको सहभागिता थियो ।








































Comments