परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेनद्वारा पाल्पामा सरसफाइ अभियान सम्पन्न
पाल्पा — स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको सन्देश बोकेर परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेन, पाल्पाले सरसफाइ अभियान सम्पन्न गरेको छ । तानसेन नगरपालिका वडा नम्बर ३ अन्तर्गत पाल्पा–तम्घास सडक खण्डमा आयोजित उक्त अभियानमा मण्डलीका सन्तहरू सक्रिय रूपमा सहभागी भएका थिए । समुदायमा स्वच्छता, वातावरण संरक्षण र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले स्थानीयवासी तथा सरोकारवाला निकायको ध्यान आकर्षित गरेको छ । विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको यस प्रकारको स्वयम्सेवी अभियान तानसेनमा सम्पन्न भएकाे हो ।
तानसेन नगरपालिका वडा नम्बर ३ मा अवस्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेनको आयोजनामा सम्पन्न उक्त सरसफाइ अभियानमा करिब ३० जना सन्तहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभियानका क्रममा सडक छेउछाउमा फालिएका फोहोर, प्लास्टिकजन्य सामग्री तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबु रत्न शाक्यको समेत उपस्थिति रहेको थियो । उहाले मण्डलीद्वारा गरिएको सरसफाइ अभियान प्रशंसनीय रहेको बताउँदै यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्नुभयो । वडा अध्यक्ष शाक्यले वडा तहले यसअघि पनि मण्डलीसँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र जनहितका कार्यमा निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अभियानका बारेमा जानकारी दिँदै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज तानसेनका प्रमुख श्रवण श्रेष्ठले मण्डलीले धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँका अनुसार सरसफाइ अभियान नेपालमा मात्र सीमित नभई विश्वका विभिन्न देशहरूमा एकैसाथ सञ्चालन भइरहेका छन् । “स्वच्छ वातावरण मानव जीवनको आधार हो भन्ने मान्यताका साथ हामीले यस्ता अभियान सञ्चालन गर्दै आएका छौँ,” उहाँले भन्नुभयो। मण्डलीले यसअघि रक्तदान कार्यक्रम, विपद् सहयोग, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको उहाँले जानकारी दिनुभयो । साथै, तानसेन नगरपालिकाका अन्य वडाहरूमा समेत आगामी दिनमा सरसफाइ अभियानलाई निरन्तरता दिने योजना रहेको उहाँले बताउनुभयो ।
अभियानमा सहभागी मण्डलीका सदस्य काशिनाथ जानाले सरसफाइ अभियानमा सहभागी हुन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । सानो प्रयास गरे पनि यसले समाजमा ठूलो सन्देश दिन सक्ने विश्वास रहेको भन्नुभयो । मण्डलीका अर्का सदस्य इन्द कुमालले यस्ता अभियानले समुदायमा आपसी सहकार्य र सद्भाव बढाउने उल्लेख गर्नुभयो । उहाले सरसफाइ अभियानले वातावरण मात्र होइन, मानिसहरूको सोच पनि सफा बनाउने बताउनुभयो ।








































Comments