परम्परा बोल्ने तानसेन: योमरी महोत्सव २०८२ सांस्कृतिक आकर्षणको केन्द्र
पाल्पा-तानसेनको वडा न ३ टक्सारको बस्ती, गल्लीमा यसपटक योमरीको सुवास मात्र फैलिएको थिएन, स्थानीयहरूको गर्व, उत्साह र आफ्नो संस्कृतिप्रतिको भावनाले पनि वातावरण एकदमै जीवन्त बनेको छ । "आफ्नो पहिचान यिनै परम्परामा छ, यसलाई जोगाउन यस्ता महोत्सव निकै जरूरी छन्,” तानसेन–३ का स्थानीय रिलरमान महर्जनले मुस्कुराउँदै भन्नुभयो । उता, महोत्सव हेर्न आउनु भएकी २२ वर्षीया बिष्णु खत्रीले योमरी त खानकै मज्जा फरक रहेछ साथमा सास्कृतिक कार्यक्रमले थप रौनकता थप्यो उहाले भन्नुभयो । यस्तै स्थानीय आवाजहरूले महोत्सवको सुरुवातलाई नै थप आत्मीय बनायो — मानौँ तानसेनको संस्कृति आफैं बोलिरहेको थियो ।
तानसेन नगरपालिका वडा न ३ को आयोजक र मैत्री क्लब तानसेनको मुख्य आयोजनामा सम्पन्न योमरी महोत्सव तथा फुड फेस्टिवल–२०८२ यस वर्ष सांस्कृतिक रंग, स्थानीय सक्रियता र समुदायको सहकार्यको उत्कृष्ट मिसनजस्तै प्रस्तुत भयो । स्थानीय स्वाद, परम्परा, कला, परिकार, पर्यटन र सांस्कृतिक पहिचानलाई एउटै विशाल मञ्चमा उभ्याउने उद्देश्यले गरिएको यो महोत्सवले तानसेनलाई एक दिनका लागि मात्र होइन, दीर्घकालीन रूपमा पनि सांस्कृतिक गन्तव्यको रूपमा स्थापित गर्ने आधार तयार गरिदिएको अनुभूति सहभागीहरूले साटासाट गर्नुभएको छ ।
तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले महोत्सवका लागि वडाले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बताउदै वडाले स्थानीय संस्कृति, मिसन धारा जस्ता ऐतिहासिक संरचना र समुदाय–केन्द्रित कार्यक्रमको संरक्षण तथा विकासलाई निरन्तर प्राथमिकता दिएको बताउनुभयो ।
महोत्सवमा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन र काठमाडौंबीचको सांस्कृतिक समानता उल्लेख गर्दै इतिहास, परम्परा र सांस्कृतिक धरोहरको संरक्षण तानसेनको दीर्घकालीन विकासका लागि अनिवार्य रहेको बताउनुभयो । टक्सारमा परम्परागत घर–आँगनका ढाँचा, करूवा, पानस, ढुंगाका कलाकृतिहरू, पुराना गल्ली—यी सबै इतिहासका दस्तावेज रहेको र यी जोगिन सकेनन् भने तानसेनको पहिचान कमजोर हुने बताउदै नगर प्रमुख श्रेष्ठले योमरी महोत्सवलाई सांस्कृतिक जागरणको अभ्यासका रूपमा व्याख्या गर्नुभयो । साथै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो
महोत्सवले स्थानीय व्यापार, उद्योग र पर्यटन क्षेत्रमा पनि नयाँ आशा बोकेको छ । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले यो महोत्सवले स्थानीय उत्पादन र व्यवसायिक गतिशीलतामा नयाँ रौनक थपेको बताउनुभयो । उहाले स्थानीय उत्पादन, हस्तकला, परम्परागत परिकार र सांस्कृतिक प्रस्तुतिका कारण यहाँ आउने मानिसहरूको चहलपहल बढ्ने, जसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष फाइदा पुर्याउने बताउनुभयो । त्यसैगरी क्लब अध्यक्ष पञ्च शाक्यले आन्तरिक पर्यटन प्रवर्द्धनमा यस्ता महोत्सवले ठूलो सहयोग गर्ने र तानसेनलाई समयानुकूल पर्यटन–मैत्री शहर बनाउने विश्वास व्यक्त गर्नुभयो । क्लबले विगतका बर्ष देखि मानवीय सेवासँगै योमरी महोत्सव गर्दै स्थानीय सस्कृतिको जर्गेना गर्ने कार्य गरिरहेको बताउनुभयो ।
स्टलहरूमा योमरी बनाउनको तरिका हेर्दै रमाइरहेका बालबालिका, परम्परागत पोशाकमा सजिएका युवतीहरू, विभिन्न सांस्कृतिक नृत्य, स्थानीय गीत–संगीत तथा स्वादिष्ट परिकारहरूको प्रदर्शनी गरिएको थियो । योमरी महोत्सव तथा फुड फेस्टिवल–२०८२ ले तानसेनको सामाजिक सम्बन्ध, सामुदायिक सहकार्य, सांस्कृतिक विरासत र आर्थिक गतिविधिको साझा उत्सवको रूप लिएको मैत्री क्लबका सचिव सुशीला शाक्यले बताउनुभयो । स्थानीय आवाज, परम्पराको मिठास, कला–संस्कृतिको विविधता र समुदायको संयुक्त ऊर्जा मिसिएर बनेको यो महोत्सवले तानसेनलाई फेरि एकपटक सांस्कृतिक र पर्यटनका दृष्टिले महत्वपूर्ण शहरका रूपमा उजिल्याएको उहाले बताउनुभयो ।








































Comments