प्रभु बैंकद्वारा रिब्दीकोटमा वित्तीय साक्षरता कार्यक्रम तथा वाटर डिस्पेन्सर मेसिन हस्तान्तरण

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नं. २ मा अवस्थित आदर्श माध्यमिक विद्यालयमा प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै दुई थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, बचतको महत्व, डिजिटल बैंकिङ तथा वित्तीय अनुशासनका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

 

कार्यक्रमसँगै प्रभु बैंकले विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई शुद्ध पिउने पानी उपलब्ध गराई स्वास्थ्य वातावरण सुधार गर्ने उद्देश्यले दुई थान वाटर डिस्पेन्सर प्रदान गरेको हो । उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमलाल अधिकारी, रिब्दीकोट गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश पोखरेल तथा विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद खनाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमलाल अधिकारीले प्रभु बैंकको यो सहयोग विद्यालयका लागि अत्यन्तै उपयोगी रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई वित्तीय रूपमा सचेत बनाउनु आवश्यक रहेको बताउँदै प्रभु बैंकले विद्यालयलाई सहयोग गरेर समाजप्रति आफ्नो उत्तरदायित्व पूरा गरेको बताउनुभयो । त्यस्तै वडा अध्यक्ष ओम प्रकाश पोखरेलले बैंकको पहल सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

प्रभु बैंकका तर्फबाट सम्बन्धन अधिकृत बसन्त कार्की तथा दर्शन शर्माले वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सम्बन्धन अधिकृत कार्कीले प्रभु बैंक केवल वित्तीय कारोबारमा मात्र सीमित नभई समाजको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो । बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा वित्तीय साक्षरताका क्षेत्रमा यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments