पाल्पामा २ दिने मिडिया साक्षरता कार्यशाला सम्पन्न

पाल्पा - २ दिने मिडिया साक्षरता कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

 

कार्यशालाको समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सञ्चारमाध्यमहरुले दिएका सूचनाबाट नागरिकहरु सुसुचित हुने भएकोले पत्रकारहरु निष्पक्ष भएर सूचना सम्प्रेषणमा लाग्नुपर्ने बताउनुभयो ।पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष झपेन्द्र गहिरेले मिडिया साक्षरता व्यक्तिको क्षमता, अध्ययन, तालिम, आर्थिक–सामाजिक पृष्ठभूमि, सांस्कृतिक प्रभाव आदिमा पनि निर्भर रहने बताउनुभयो ।

 

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष एवम् तानसेन वडा नं. ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले पाठक, दर्शक वा स्रोतामा मिडियाका काम र यसले प्रदान गर्ने सूचना–सामग्रीलाई मापन गर्ने र मूल्यांकन गर्ने क्षमता र साहस मिडिया साक्षरताले बढाउने बताउनुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको दायरा बढ्दै गएको वर्तमान सन्दर्भमा मिडिया साक्षरता भने कोसेढुंगा साबित हुने गरी विकास भइनसकेको बताउनुभयो । सहभागी पत्रकार दयाराज न्यौपानेले यो तालिम निकै फलदायी भएको बताउँदै आगामी दिनमा पनि यसप्रकारको तालिमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

 

कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्काको संचालन र अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा चलेको थियो । तालिममा पाल्पा र गुल्मीका गरि ३० जना बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यशालामा प्रशिक्षक शिरोमणी ढुङ्गाना र मन्जिमा ढकालले सहजीकरण गर्नुभएको थियो ।

Comments