पाल्पामा ‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ नारासहित सचेतनामूलक कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न
भौतिक विकाससँगै वातावरणीय सन्तुलनको आवश्यकता औंल्याउँदै विशेषज्ञहरूको जोड
पाल्पा, तानसेन – वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित ‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ भन्ने नारासहित एक सचेतनामूलक कार्यपत्र प्रस्तुति कार्यक्रम तानसेन नगरपालिका वडा नं. २ को आयोजनामा तथा प्रजातान्त्रिक विचार समाज जिल्ला समिति पाल्पाको समन्वयमा सम्पन्न भएको छ।
कार्यक्रममा वातावरणीय संरक्षणका विविध पक्षबारे गहन छलफल तथा कार्यपत्र प्रस्तुत गरिएको थियोल। वर्तमानमा तीव्र रूपमा बढ्दै गएको भौतिक विकासको लहरसँगै वातावरणमा पर्न सक्ने प्रतिकूल असरबारे चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नीति निर्मातादेखि स्थानीय वडाबासी नागरिकहरूकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा प्रस्तुत कार्यपत्रमार्फत वातावरणीय संरक्षणलाई विकासको एक अनिवार्य र समकक्षी आयामका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
भौतिकवादी सोचले मात्र मुलुकको समृद्धि सम्भव नहुने, बरु दीगो र समावेशी विकासका लागि वातावरणसँग सन्तुलन कायम गर्नु अपरिहार्य रहेको धारणा राख्न भएको थियो।
जलवायु परिवर्तनको सन्दर्भमा “रुखलाई पनि मानव सरह माया र संरक्षण गर्नुपर्छ।” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियाे । वातावरणीय संकट, तापक्रम वृद्धि, वर्षा चक्रको गडबडी, जंगल फँडानी, र जैविक विविधताको विनाशले मानव जीवनमा पार्न सक्ने असरहरूलाई कार्यपत्रमार्फत तथ्यसहित प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक तथा वातावरणप्रति चासो राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो । उनीहरूले वातावरणीय मुद्दामा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू समय–समयमा आवश्यक रहेको बताउनु भएको थियाे । कार्यपत्रमा नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, नेकपा एमालेका निवर्तमान पाटी अध्यक्ष धनेन्द्र राज घिमिरे,तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ,वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पाका पाटी काेषाध्यक्ष माेहन श्रेष्ठ लगाएतले टिप्पणी गर्नुभएको थियाे ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाज पाल्पाका सभापति प्रा.डा. रामजी पौडेलले कार्यक्रमले वातावरणप्रतिको दायित्व र संरक्षणप्रति सबैको साझा भूमिका रहने बताउनुभयो । दीगो विकासको आधार स्वरूप वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ यस्ता गतिविधिहरूलाई सशक्त रूपमा अघि बढाउने बताउनुभयो ।








































Comments