पाल्पामा पनि मनाइयो विश्व मस्तिष्क पक्षघात दिवस
पाल्पा — विश्व मस्तिष्क पक्षघात (Cerebral Palsy) दिवसका अवसरमा मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल, काठमाडौंको आयोजनामा तानसेनमा एक विशेष सचेतना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मस्तिष्क पक्षघात भएका बालबालिकालाई शैक्षिक सामग्री उपहारस्वरूप प्रदान गर्दै दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा सबैले फरक क्षमता भएका बालबालिकाको हक र सम्मानलाई पुनः स्मरण गर्नुपर्ने बताउनुभयो । मस्तिष्क पक्षघात भएका बालबालिका पनि अन्य बालबालिकाजस्तै समान अधिकार, अवसर र स्नेहका हकदार हुने उल्लेख गर्दै उहाँले उनीहरूलाई सक्षम नागरिकका रूपमा विकसित गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।
नगरप्रमुख श्रेष्ठले वितरण गरिएको शैक्षिक सामग्री केवल सहयोगको प्रतीक मात्र नभई सहानुभूति, समावेशी शिक्षा र समान अवसरप्रतिको प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो । उहाँले हरेक बालबालिकाले आफ्नो क्षमताअनुसार सिक्ने, खेल्ने र अभिव्यक्त हुने अवसर पाए मात्र समाज साँच्चिकै समावेशी र न्यायपूर्ण बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । साथै, स्थानीय सरकारले आगामी दिनमा पनि फरक क्षमता भएका व्यक्तिहरूलाई लक्षित गरि ठोस नीतिगत तथा कार्यक्रमगत कदम चाल्ने बताउनुभयो । उहाँले हरेक नागरिकले आफ्ना घर, विद्यालय र समुदायमा फरक क्षमता भएका बालबालिकाप्रति सकारात्मक दृष्टिकोण राखे उनीहरूको क्षमता पहिचान गर्न सहयोग पुग्ने र उनीहरूलाई आत्मनिर्भर तथा आत्मविश्वासी नागरिकका रूपमा अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि ,तानसेन नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता समन्वय समितिकी संयोजक प्रतिक्षा गाहा सिङ्जालीले मस्तिष्क पक्षघात भएका बालबालिकालाई उपचार, शिक्षा र पुनर्स्थापनाका माध्यमबाट आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले नेपाल सरकारले अपाङ्गता वर्गीकरण (क, ख र ग वर्ग) का अपाङ्गता भएका व्यक्तिहरूलाई बजेट विनियोजन गरी भत्ता प्रदान गर्ने व्यवस्था गरे पनि तानसेन नगरपालिकाले भने घ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई समेत भत्ता प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सचेतना र सीपमूलक कार्यक्रमहरू नै मस्तिष्क पक्षघात भएका बालबालिकाको उज्यालो भविष्य निर्माणको आधार रहेको बताउदै आगामी दिनमा पनि नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी, पाल्पा सी.भी.आर. (CVR) का निवर्तमान अध्यक्ष हेमन्त राज शाक्यले स्थानीय सरकार र समुदायले सहकार्य गरे मात्र मस्तिष्क पक्षघात भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न सकिने बताउनुभयो । उहाँले यस्ता बालबालिकाका लागि शिक्षा र आत्मनिर्भरता नै सशक्त जीवनको आधार हुने धारणा राख्नुभयो । कार्यक्रमका अतिथि तथा संस्थाका सल्लाहकार सुमेर रत्न बज्राचार्यले विश्व मस्तिष्क पक्षघात दिवसले समाजमा सचेतना र सहानुभूति बढाउने अवसर प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता दिवसहरूले मस्तिष्क पक्षघातबारे जनस्तरमा सकारात्मक दृष्टिकोण र सहयोगी भावना विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मस्तिष्क पक्षघात भएका बालबालिकालाई शैक्षिक सामग्री उपहारस्वरूप वितरण गरिएको थियो । सहभागीहरूले यसलाई मस्तिष्क पक्षघात भएका बालबालिकाको हकहितमा गरिएको प्रेरणादायी पहलका रूपमा स्वागत गरेका थिए । कार्यक्रममा पाल्पा सि वि अारका कोषाध्यक्ष अनुराधा बज्राचार्य, सहसचिव पुनराज शाक्य, सदस्य अर्जुन कार्की र स्वस्तिका श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम पाल्पा सि वि आरका उपाध्यक्ष मिलन मुनि शाक्यको अध्यक्षता तथा मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपाल पाल्पाका कार्यक्रम संयोजक कृष्ण गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments