पाल्पामा न्यायिक समितिसँग वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न
पाल्पा — सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत पाल्पा जिल्लाका सबै स्थानीय तहका न्यायिक समितिसँग वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक श्री प्रतिक्षा सिजालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख श्री सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो साथै तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चेतनाथ गिरीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाल्पा जिल्लाभरिका स्थानीय तहका उपाध्यक्षहरू (न्यायिक समितिका संयोजकहरू) तथा न्यायिक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी व्यवस्था, सेवा तथा प्रक्रियाबारे जानकारी आदान–प्रदान गरिएको थियो भने यस क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । अन्तरक्रियाको क्रममा वैदेशिक रोजगारीसम्बन्धी समस्याहरूको समाधानका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने क्षमता अभिवृद्धि गर्ने, सुरक्षित आप्रवासनका क्षेत्रमा स्थानीय तह र सरोकारवालाबीच सहकार्यका सम्भावनाहरू पहिचान गर्ने तथा साझा बुझाइ निर्माण गरी जोखिम न्यूनीकरणमा योगदान पुर्याउने विषयमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरे तथा जिल्ला अदालत पाल्पाका तहसिलदार एवं सूचना अधिकारी रामप्रसाद पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा तिनाउ गाउँपालिकाका उपाध्यक्षले आफ्नो पालिकामा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको तथ्यांक संकलन भइरहेको र बस्ती स्तरसम्म सूचना पहुँच विस्तारमा ध्यान दिइएको जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै अध्यक्ष सिजालीले वैदेशिक रोजगारीका चुनौती तथा त्यसका नकारात्मक असर न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरूको सक्रिय समन्वय आवश्यक रहेको बताउनुभयो ।








































Comments