पाल्पामा निशुल्क मुटु जाँच तथा सचेतना कार्यक्रम सम्पन्न : ३ सय १० जनाले लिए सेवा

पाल्पा— स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाल्पा शाखाको आयोजनामा, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभास पाल्पाको प्राविधिक सहयोगमा, नारायण युवा क्लब तानसेन र नेपाल औषधी व्यवसायी संघ पाल्पा शाखाको समन्वयमा अमर नारायण फूलबारी कभर्ड हलमा निशुल्क मुटु जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त शिविरमा कुल ३ सय १० जनाले मुटु जाँच गराउँदै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । 

 

कार्यक्रम तानसेन नगरपालिका वडा न २ को मुख्य आयोजनामा सम्पन्न भएको थियो जसमा तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । नगरप्रमुख श्रेष्ठले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको भन्दै यस्ता निशुल्क कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो  । उहाँले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले जनचेतना अभिवृद्धि गर्ने कार्यलाई सबैले जोड दिनुपर्ने बताउनुभयो । नगरपालिकाले यस्ता शिविरहरूलाई प्रोत्साहन दिँदै आगामी दिनमा नगरभित्रका वडाहरूमा  मुटुरोगजस्ता दीर्घकालीन रोगको रोकथाम गर्न सकारात्मक कदम चाल्ने बताउनुभयो । 

 

नगरप्रमुख श्रेष्ठले यस कार्यक्रममार्फत नगरवासीले आफ्नो स्वास्थ्य प्रति सचेत हुने अवसर पाएको बताउनुभयो । उहाँले लुम्बिनी मेडिकल कलेज, नेपाल हृदय रोग निवारण प्रतिष्ठान र सहयोगी संघसंस्थाहरूको योगदानको प्रशंसा गर्दै नगरपालिकाले आगामी दिनमा समन्वयन र सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका वडा नं। २ का अध्यक्ष महेश्वर श्रेष्ठले वडाले बजेट विनियोजन गरी स्वास्थ्य सचेतना फैलाउन र रोगको प्रारम्भिक अवस्थामै जाँच गर्न पहल गरेको जानकारी दिनुभयो। उहाँले वडाबासीहरूको स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखेर यस्ता जनकल्याणकारी कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार बुद्धि प्रसाद शर्मा, मधु दयाल शैजु, तानसेन नगरपालिका कार्यपालिका सदस्य सविता भट्टराई, वडा सदस्य धुर्व ज्ञवाली, राम बहादुर थापा, मञ्जु रणपाल, लुम्बिनी मेडिकल कलेजका डाक्टर हिमाल घिमिरे, नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्य, अमर नारायण फूलबारी कभर्ड हलका अध्यक्ष किशोर दर्शन बजाचार्य र नेपाल औषधी व्यवसायी संघ पाल्पाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाल्पाका अध्यक्ष समिर मान सिङको अध्यक्षतामा र सचिव सुशील प्रधानको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमले पाल्पा जिल्लामा मुटुरोग सम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यो अभियानले नगरवासीलाई दीर्घकालीन रोगबाट बच्न प्रारम्भिक पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको अध्यक्ष समीर मान सिङले बताउनुभयो । 

 

निशुल्क मुटु जाँच तथा सचेतना शिविर सञ्चालन हुनु मात्र स्वास्थ्य सेवा पुगाउने कार्यक्रम नभई पाल्पाको स्वास्थ्य क्षेत्र विकासमा नयाँ अध्यायको सुरुवात रहेको स्थानीय तथा स्वास्थ्यकर्मीहरूले बताएका छन्। यस्ता शिविरहरू नियमित रूपमा आयोजना गर्दै स्वास्थ्य सेवा पहुँचलाई सबैका लागि सुलभ बनाउने र जनस्वास्थ्यमा सुधार ल्याउने लक्ष्य रहेको नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाल्पाका सचिव सुशील प्रधानले जानकारी दिनुभयो ।

Comments