पाल्पामा निर्वाचन सम्पन्न १ हजार ५ सय बढी कर्मचारी खटाइने

तानसेन - पाल्पामा निर्वाचन सम्पन्न गर्न एक हजार पाँच सय बढी कर्मचारी खटाउने तयारी गरिएको छ । पाल्पाको दुई वटा निर्वाचन क्षेत्रमा एक हजार पाँच सय छ जना निर्वाचन कर्मचारी खटाउने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

 

जिल्लाको क्षेत्र नं. १ मा ११७ मतदान केन्द्र र क्षेत्र नं. २ मा १३४ मतदान केन्द्र रहेका छन् । प्रत्येक केन्द्रमा निर्वाचन अधिकृत एक, सहायक निर्वाचन अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी खटाउने तयारी छ । निर्वाचनका कर्मचारीसहित प्रत्येक निर्वाचन केन्द्रमा पाँच सय भन्दा कम मतदाता भएकोमा दुई र पाँच सय बढी मतदाता भएको केन्द्रमा तीन जना  स्वयम्सेवक निर्वाचन अधिकृतले नियुक्त गर्ने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताउनुभयो । 

 

पाल्पामा रहेका अस्थायी दुई वटा मतदान स्थलमा पनि कर्मचारी खटाइनेछ । जिल्लाको तानसेनमा दुई वटा अस्थायी मतदान केन्द्र रहनेछन् । अस्थायी दुई वटा मतदान स्थलमा एक/एक जना निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र सहायक कर्मचारी खटाइनेछ । जिल्लाका लागि आवश्यक निर्वाचन कर्मचारीको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटाउने कर्मचारी र शिक्षकको विवरण स्थानीय तहबाट प्राप्त भइसकेको छ ।

Comments