पाल्पामा नेपाली कांग्रेसद्वारा सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाल्पा जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाको आयोजनामा सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पाल्पा–१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सन्दीप राना सहित पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष समीर मान सिङ लगाएत पदाधिकारी तथा सदस्यहरू, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका एसोसिएट उपाध्यक्ष राजु महर्जन तथा पार्टी कार्यालयका पूर्व कर्मचारीहरूलाई समेत कार्यक्रमफमार्फत कदर गरिएको थियो । कार्यक्रमले जिल्लामा राजनीतिक, आर्थिक तथा संगठनात्मक समन्वयलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष अभिमुखीकरण सत्र रहेको थियो, जसमा प्राध्यापक पुष्कर आचार्य र पुष्करराज रेग्मीले समसामयिक राजनीतिक अवस्था तथा नेपाली कांग्रेस केन्द्रीय समितिबाट परिपत्र गरिएको “जरा अभियान” सम्बन्धी विस्तृत जानकारी गराउनुभएको थियो । उहाँहरूले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने तथा विचार र कार्यदिशालाई स्पष्ट रूपमा अघि बढाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो । अभिमुखीकरणले कार्यकर्ताहरूलाई आगामी रणनीति निर्माणमा मार्गदर्शन प्रदान गरेको नेपाली काङ्गेस पाल्पाका सचिव सुनिता अधिकारीले जानकारी दिनुभयो ।
यसै अवसरमा नव निर्वाचित सांसद सन्दीप रानाले आफ्नो मन्तव्य व्यक्त गर्दै सम्पूर्ण मतदाता, निर्वाचन अभियानमा खटिएका पार्टीका सदस्यहरू तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले जनताको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै जिल्लाको समग्र विकासका लागि इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिँदै पाल्पालाई समुन्नत जिल्लाको रूपमा स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा जिल्ला सभापति तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार हिमाल दत्त श्रेष्ठले कठिन परिस्थितिमा समेत मतदान गर्ने मतदाता, निर्वाचन परिचालनमा खटिएका कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । आफू निर्वाचनमा पराजित भए पनि जिल्लाको विकास र पार्टी संगठन सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता उहाँले जनाउनुभयो । जिल्ला सभापति हिमाल दत्त श्रेष्ठको अध्यक्षता, उपसभापति ज्ञान बहादुर गाहा को स्वागत तथा सचिव सन्तोष थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, सचिव सुनिता अधिकारी, उद्योग वाणिज्य संघका समिर मान सिंह बिशेष उपस्थिति तथा पूर्व कर्मचारी उमानाथ अर्यालले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।








































Comments