पाल्पामा मृगौला रोगबाट पीडित मित्र बहादुर सार्की आर्थिक अभावमा, उपचारका लागि सहयोगको अपिल
पाल्पा जिल्लाको रैनादेबी छहरा गाउँपालिका वडा नं. ३ गोकुङ्गा निवासी ४७ वर्षीय मित्र बहादुर सार्की यतिबेला गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । करिब ६ महिनाअघि उनका दुबै मृगौलाले काम गर्न छाडेपछि उनी निरन्तर उपचारमा आश्रित बनेका छन् । रोजगारीको सिलसिलामा भारतमा धागो उद्योगमा काम गरिरहेका बेला उनको स्वास्थ्यमा अचानक समस्या देखिएको परिवारले जनाएको छ । सुरुमा सामान्य कमजोरी, शरीर सुन्निने र थकानजस्ता लक्षण देखिए पनि पछि परीक्षण गर्दा दुबै मृगौला फेल भएको पुष्टि भएको थियो । त्यसयता उनी नियमित उपचारमा रहे पनि आर्थिक अभावका कारण उपचारलाई निरन्तरता दिन चुनौती थपिँदै गएको छ ।
मित्र बहादुर सार्कीको परिवार आर्थिक रूपमा कमजोर रहेको बताइएको छ । श्रीमती राधा सार्की गृहिणी हुन् भने उनका दुई छोरा र एक छोरी छन् । जेठा छोरा चन्द बहादुर नेपाली, कान्छा छोरा लक्ष्मण नेपाली र छोरी यलिसा नेपालमा छन् । परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारी भए पनि बाबुको दीर्घकालीन उपचारमा ठूलो रकम खर्च हुन थालेपछि घरको आर्थिक अवस्था झनै कमजोर बनेको छ । कमाउने व्यक्तिनै गम्भीर बिरामी परेपछि परिवारमाथि बज्रपात परेको जस्तै अवस्था सिर्जना भएको आफन्तहरू बताउँछन् ।
हालसम्म उपचार खर्च जुटाउन परिवारले आफन्त र छिमेकीसँग ऋण सापटी लिएको छ । केही स्थानीय सहयोगी मनहरूले सानो–सानो सहयोग गरे पनि बढ्दो उपचार खर्च धान्न गाह्रो हुँदै गएको छ । चिकित्सकहरूका अनुसार दुबै मृगौला फेल भएका बिरामीका लागि नियमित डायलाइसिस वा मृगौला प्रत्यारोपण नै दीर्घकालीन समाधान हो । तर प्रत्यारोपणका लागि लाखौं रुपैयाँ खर्च लाग्ने भएकाले आर्थिक रूपमा कमजोर परिवारका लागि त्यो सम्भव देखिँदैन । अहिले डायलाइसिसकै भरमा जीवन धानिरहेका सार्कीको उपचार बीचमै रोकिए ज्यानै जोखिममा पर्न सक्ने खतरा रहेको चिकित्सकहरूको भनाइ छ ।
यस कठिन परिस्थितिमा परिवारले सहयोगी मनहरू, संघसंस्था, समाजसेवी तथा सरोकारवाला निकायलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ । “सानो सहयोगले पनि ठूलो राहत मिल्छ,” भन्दै श्रीमती राधा सार्कीले भावुक अपिल गरेकी छन् । स्थानीय बासिन्दाहरूले पनि सहयोग संकलनको पहल सुरु गरेका छन् ताकि आर्थिक अभावकै कारण उपचार रोक्न नपरोस् । जीवन रक्षाको लडाइँ लडिरहेका मित्र बहादुर सार्कीका लागि अहिले सबैभन्दा ठूलो आशा सहयोगी हात नै बनेको छ । उचित उपचार र निरन्तर साथ पाए उनी फेरि सामान्य जीवनमा फर्कन सक्ने आशा परिवारले व्यक्त गरेको छ ।
बिजय बस्याल 9840960911
राधा सार्की 9841398672
सहयोगका लागि








































Comments