पाल्पामा ‘कोरा साइक्लिङ’ सम्पन्न, स्वास्थ्य र धार्मिक पर्यटनमा जोड
पाल्पा — पाल्पा साइक्लिङ संघको आयोजनामा सम्पन्न भएको ‘कोरा साइक्लिङ च्यालेञ्ज २०२५’ ले जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई उजागर गर्नुका साथै स्वास्थ्य र वातावरणीय सचेतनामा सकारात्मक सन्देश प्रवाह गरेको छ । यस वर्षको कोरा यात्रा विशेष र ऐतिहासिक बनेको आयोजकहरूको भनाइ छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गर्नु भएको थियो । ‘कोरा साइकलिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउँदै आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेञ्जले साइकल यात्रीलाई प्रोत्साहन गर्नुको साथै यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्याएको उहाले चर्चा गर्नुभयाे ।
गत वर्ष सञ्चालन गरिएको ‘हेरिटेज राइड–२०८१’ को सफलतापछि यसपालि ‘कोरा २०२५’ को आयोजनामा जुटिएको साइक्लिङ संघले कोराको धार्मिक महत्त्वलाई साइकल यात्रा मार्फत सन्देश दिन खोजेको हो । कुनै पनि पवित्र स्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई कोरा भनिन्छ । यही परम्परालाई आधार मानेर साइक्लिङमार्फत परिक्रमा गर्दै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूमा पुगिने यो अभियान स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धनको समिश्रण हो ।
कार्यक्रमको सुरुआत विहान ७ बजे टुँडिखेलबाट गरिएको थियो । र्याली दरबार परिसर पुगेपछि तानसेन दरबार संग्रहालय अगाडिबाट औपचारिक यात्रा प्रारम्भ भएको थियो । सहभागी साइकल यात्रीहरूले बतासेडाँडा, भैरवस्थान मन्दिर, जलेश्वर मन्दिर, वयदर राडार टावर, डुम्रे, प्रभास लगायतका स्थान परिक्रमा गर्दै पुनः दरबार परिसरमै आएर यात्रा समापन गरेका थिए । यात्राको दूरी झण्डै ५५ किलोमिटर थियो, जसमा ६० जना साइक्लिस्टहरू सहभागी थिए ।
साइकल यात्रुहरूलाई बाटोभरि विभिन्न स्थानमा स्थानीयबासीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । विशेष गरी बतासे बजार र जलेश्वर मन्दिरमा गरिएको स्वागत भव्य थियो । त्यस्तै, स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएर आगन्तुकहरूलाई मन्त्रमुग्ध बनाएका थिए । यात्रामा सहभागीहरूमध्ये कतिपयले पहिलोपटक यस्तो यात्रा अनुभव गरिरहेको बताउँदै आफूहरूमा ऊर्जा र प्रेरणा थपिएको बताए ।
संघका अध्यक्ष रूपेश महर्जनका अनुसार, यो वर्षको कोरा यात्रा पूर्वभन्दा बढी व्यवस्थित र प्रभावशाली भएको बताउनुभयो । उहाले कोरालाई केवल एक साइकल यात्रा नभई सामाजिक सन्देश दिने अवसरका रूपमा लिएको बताउनुभयो । स्वास्थ्यप्रति सचेतना फैलाउने, धार्मिक र सांस्कृतिक स्थलहरूको प्रचारप्रसार गर्ने र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यो कार्यक्रमले पाल्पाको परिचयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको उहाको भनाइ थियो।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको उपस्थिति थियो । उहाले कोरा साइक्लिङ च्यालेञ्जले जिल्लाको धार्मिक सम्पदा, पर्यटन सम्भावना र सामाजिक चेतनालाई एकैसाथ जोडेको बताउनुभयो । युवाहरूमा सकारात्मक ऊर्जा भर्ने खालको यस्ता कार्यक्रमको आवश्यकता औँल्याउँदै उहाले भविष्यमा स्थानीय तहबाट पनि यस्ता प्रयासमा सहकार्य बढाइने जनाउनुभयो ।
कार्यक्रममा सहभागी हुन चाहनेले रु। ५०० शुल्क तिर्ने व्यवस्था गरिएको थियो र सहभागीहरूलाई कोराको आधिकारिक टी–शर्ट प्रदान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन पाल्पा जेसिज, दी फेमस महेन्द्र दल गण, एक्सेस एजुकेसन नेटवर्क प्रालि लगायतका संस्थाहरूको सहयोग उल्लेखनीय रहेको थियो । कोरा साइक्लिङ च्यालेञ्ज केवल एक साहसिक यात्रा नभई, सम्पूर्ण समाजलाई स्वास्थ्य, समर्पण र संस्कृतिप्रतिको श्रद्धाको सन्देश दिने अभियान बनेको समाजसेवी डाक्टर माधव थापाले बताउनुभयो । यसरी एकैसाथ खेल, संस्कृति र सामाजिक चेतनालाई समेटिएको यस यात्राले पाल्पाको सम्भावनाहरूलाई उजागर गरेको बताउनुभयो ।








































Comments