पाल्पामा भू-उपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन
पाल्पा, फागुन १ – स्थानीय तहमा भू-उपयोग योजना तथा भूमि व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले पाल्पामा विशेष तालिम सञ्चालन गरिएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र,धुलिखेल काभ्रेपलाञ्चोकको आर्थिक तथा प्राविधिक सहयोगमा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्राविधिक कर्मचारीहरूका लागि उक्त तालिम आयोजना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय, पाल्पामा माघ २७ गतेदेखि सुरु भएको तालिम फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक जनकराज जोशीको नेतृत्वमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद तथा राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिका संयोजक ठाकुरप्रसाद गैरे प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर २ का संघीय सांसद तथा राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिका संयोजक गैरेले भूमि व्यवस्थापनलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालमा बढ्दो भू-उपयोग समस्या, अव्यवस्थित बसोबास, कृषि योग्य जमिनको प्लटिङ तथा सरकारी जग्गा संरक्षणका चुनौती समाधान गर्न वैज्ञानिक नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय तहका प्राविधिक कर्मचारीहरूलाई सम्बोधन गर्दै उहाँले भू-उपयोग नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अद्यावधिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । संघीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्थानीय तहलाई भू-उपयोग मापदण्ड कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । विकास निर्माणका काममा जमिन व्यवस्थापनका अवरोध हटाउन स्थानीय र केन्द्र सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै उहाँले तालिमले व्यावहारिक समाधान पहिल्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशीका गैरे, प्रमुख जिल्ला अधिकारी, भूमि आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्की, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका निर्देशक रामकुमार सापकोटा तथा मालपोत कार्यालयका प्रमुख, नापी कार्यालय पाल्पाका प्रमुख, विशेष नापी कार्यालय पाल्पाका प्रमुखलगायतको उपस्थिति रहेको थियो । तालिममा प्रशिक्षकद्वय श्रीकृष्ण अधिकारी र रिचा शर्माले सहजीकरण गर्नुभएको थियो ।
नेपालमा भूमिसम्बन्धी समस्या जटिल बन्दै गएको छ । बिनायोजना गरिएको बसोबास, अव्यवस्थित सहर विस्तार, कृषि योग्य भूमिको अनियन्त्रित प्लटिङ, सार्वजनिक सम्पत्तिको दोहन तथा कमजोर नक्सांकन प्रणालीका कारण भू-उपयोग व्यवस्थापनलाई व्यवस्थित गर्न चुनौतीपूर्ण अवस्था छ। यसै सन्दर्भमा, आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्राविधिक कर्मचारीहरूका लागि यो विशेष तालिम सञ्चालन गरिएको अायाेजकले जनाएका छन । तालिममा GIS प्रविधिको प्रयोग, डिजिटल नक्सांकन, भू-उपयोग योजना निर्माण, जमिनको भौगोलिक विश्लेषण तथा डेटा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिनेछ ।
तालिमको आजको सत्रमा गुल्मी, पाल्पा र अर्घाखाँचीका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा विशेष छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा स्थानीय तहमा देखिएका जग्गा व्यवस्थापन, भूमिसम्बन्धी विवाद, सिमाना निर्धारण, भूमि उपयोगका मापदण्ड, तथा विकास निर्माणका अवरोधबारे गहन छलफल भएको थियो । छलफलमा उठाइएका प्रश्नहरूको जवाफ भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी र निर्देशक रामकुमार सापकोटाले दिनुभएको थियो । तालिमले स्थानीय तहका प्राविधिक कर्मचारीहरूलाई भू-उपयोग तथा भूमि व्यवस्थापनका कानुनी र व्यावहारिक पक्षबारे जानकारी गराउने विश्वास गरिएको छ । तालिम फागुन ३ गतेसम्म सञ्चालन हुने मुसिकाेट नगरपालिकाका अमिन लक्ष्मण घिमिरेले जानकारी दिनुभयाे । तालिममा २८ पालिकाका २६ प्राबिधिकहरूको उपस्थिति रहेको छ । कार्यक्रम भुमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलीखेल काभ्रेपलाञ्चोक प्रमुख जनक राज जाेशीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।








































Comments