पाल्पाली जनताको सुखदुखमा सँगै छु : पाण्डेय
पाल्पा - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको दावी गर्नुभएकाे छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ स्थित दोभानमा पार्टीले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पाण्डेले शिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना बढेकाले सुरुङमार्ग निर्माण गर्नुपर्छ भनी पहिलो पटक प्रस्ताव गरेर अर्थमन्त्रालयलाई पहलका लागि दबाव आफूले दिएको उल्लेख गर्नुभयो । सुरुङमार्ग निर्माणको लागि आफूले सडक विभागसंग समन्वय गर्दा विभागले सुरुङमार्ग सम्बन्धी बिज्ञ इन्जीनियर नेपालमा नभएको बताएपछि आफूले स्वीजरल्याण्डका राजुतलाई विज्ञ झिकाउन र सहयोग गर्न अपिल गरेर डिजाइन गरिएको पाण्डेले बताउनुभयो । स्रोत सुनिश्चित गरी बजेट ब्यवस्थापन समेत गरेर हाल निर्माण भइरहेको सुरुङमार्गले तिनाउबासी मात्र नभएर पाल्पा आउनेजाने सबै यात्रुलाई अब सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
नेता पाण्डेले पाल्पाबासीसंग सुखदुःखमा सधै संगै रहेको भन्दै पाल्पाली जनताको मतकोे सम्मान गर्ने र हारजित जेसुकै भएपनि जनतासंगै रहने बचनबद्धता ब्यक्त गर्नुभयो । उहाँले पाल्पामा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप नयाँ कार्ययोजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेकपा नेतृ पार्वती विक (सामना) ले बदलिंदो राजनीतिक परिस्थितिमा देशलाई सही दिशा दिर्नेश गर्न अहिले नेकपाका उम्मेदवारले निर्वाचन जित्नुपर्ने आवश्यकता औंल्याउँदै नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका नेताहरु राजेन्द्र बिक, पुरन केसी, लिला सोमै, नेत्रप्रसाद पाण्डे, अनिलकिशोर घिमिरे, अशोक शाही, समानुपाति उम्मेदवार दुर्गादेविव भण्डारी, चक्रब्युह थापा, राजेश श्रेष्ठ लागायतले बोल्दै क्षेत्र नं. २ का साझा उम्मेदवारहरुलाई बहुमतका साथ बिजय गराउन जनतालाई आग्रह गर्नुभयो ।








































Comments