पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे अवलोकनसँगै सकियाे दुई दिने सम्पदा साइकल यात्रा
पाल्पा —पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रका प्रचारप्रसारका लागि आयोजित दुई दिने सम्पदा साइकल यात्रा शनिबार सकिएको छ । ‘हेरिटेज राइड–२०८१’ साइकल यात्रामा जिल्लाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन गराइएको आयोजक पाल्पा साइक्लिङ संघले जनाएको छ । हेरिटेज राइड तानसेनको टुँडिखेलबाट सुरु भएर भगवती मन्दिर, नारायणस्थान बतासे हुँदै रिब्दीकोटको भैरवस्थान पुगेको थियो । तानसेनमा वडा ३ कार्यालय, असनटोल टोल विकास संस्थालगायत टक्सारको धिमेबाजाले बिदाइ गरेका थिए । भगवती मन्दिर दर्शन गरी साइकल यात्राको प्रारम्भ भएको हो । तानसेनबाट सुरु भएको यात्रा रिब्दीकोटको देउराली, ख्याहाको पर्यटकीय क्षेत्र लिस्नेभीर हुँदै साइकलयात्री अर्गली, रिडी, ऋषिकेश, देवदत्त पार्क लगायतका स्थानमा पुगेका थिए । साइकल यात्रीलाई ख्याहामा विभिन्न सांस्कृतिक झलकसहित स्वागत तथा बिदाइ गरेको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
साइकल यात्रीलाई रुरुक्षेत्र गाउँपालिकाका साथै स्थानीय क्लबले स्वागत तथा सांस्कृतिक कार्यक्रम देखाएका थिए । साइकल यात्री रिडी रुरु क्षेत्रबाट फर्केर अर्गली, अर्तुङ्गा, छेर्लुङ्ग, रानीमहल हुँदै पुनः तानसेन फर्किएका छन् । साइकल यात्रीले धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरेको आयोजक पाल्पा साइक्लिङ संघका अध्यक्ष रुपेश महर्जनले बताए । ऋषिकेशव मन्दिरका साथै विभिन्न स्थानमा स्थानीय क्लब, संघसंस्था, धार्मिक संघसंस्थाले स्वागत तथा बिदाइ गरेका थिए । पाल्पासहित देशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका एक सय ५० साइकल यात्रीलाई पाल्पा जिल्लाका ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा जानकारी गराइएको पाल्पा साइक्लिङ संघका अध्यक्ष महर्जनले बताए । आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्य अनुसार सम्पदा साइकल यात्रा आयोजना गरिएको संघका उपाध्यक्ष अमनकाजी शाक्यले बताए ।
पाल्पा दरबार संग्रहालयबाट सुरु भएको साइकल यात्रीको टोलीलाई लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन विकासमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिदाइ गरेका थिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले साइकल यात्राको समापन गरे । पर्यटन प्रवर्द्धनमा सम्पदा यात्राले ठूलो टेवा पुग्ने मन्त्री सारुले बताए । पाल्पालाई साइकल हबको रुपमा स्थापित गर्न धेरै सहयोग पुर्याउने उनले बताए । मुलुकभरबाट १४ वर्ष उमेरदेखि ६५ वर्ष उमेर समूहका व्यक्ति साइकल यात्रामा सहभागी थिए । साइकल यात्रामा २ जना अपाङ्गता भएका व्यक्तिसमेत सहभागी थिए ।








































Comments