पाल्पाका धार्मिक स्थलहरूमा राष्ट्रिय झण्डा हस्तान्तरण र लालीगुराँस रोपण
पाल्पा — पाल्पाका दुई प्रमुख धार्मिक स्थलहरूमा राष्ट्रियता, हरियाली संरक्षण र सहकार्यको सन्देश बोकेको विशेष कार्यक्रम बिहीबार सम्पन्न भएको छ। तानसेन नगरपालिका वडा नं। ११ स्थित ऐतिहासिक लिपिन्देवी मन्दिर परिसर र भैरव नाथ मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा स्थापना गर्नुका साथै राष्ट्रिय फूल लालीगुराँसको बिरुवा रोपिएको हो।
कार्यक्रमको नेतृत्व गर्नु भएका सुशील बस्याल राष्ट्रप्रेमीले धार्मिक स्थलहरूलाई केवल पूजा-प्रार्थनाको स्थल मात्रै नभई समुदायमा राष्ट्रियता र वातावरणप्रतिको चेतना फैलाउने महत्वपूर्ण माध्यमको रूपमा प्रयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय झण्डा हाम्रो पहिचान हो, हाम्रो स्वाभिमान हो। लालीगुराँस भनेको हाम्रो प्रकृति र सौन्दर्यको प्रतीक हो। यी दुवैलाई सम्मान गर्नु र संरक्षण गर्नु हामी नेपालीको जिम्मेवारी रहेको बताउनुभयो । बस्यालले समाजमा एकता, स्वाभिमान र वातावरणप्रतिको उत्तरदायित्वको भावना अझ बलियो बनाउँन धार्मिक स्थलहरूबाट सकारात्मक अभियान सुरु गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका शसस्त्र प्रहरी बल पाल्पाका प्रमुख श्याम संगती महर्जनले यस्ता अभियानहरूले धार्मिक स्थलहरूलाई अझै स्वच्छ, हराभरा र आकर्षक बनाउने बताउँदै राष्ट्र, समाज र प्रकृतिको त्रिवेणी सम्बन्धलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सामाजिक परिवर्तनका लागि यस्ता स(साना तर अर्थपूर्ण कामहरू अत्यन्त जरुरी रहेको बताउदै अभियान सफलताको शुभकामना दिनुभयो ।
धार्मिक स्थलहरूमा राष्ट्रिय झण्डा राख्ने र लालीगुराँस रोप्ने अभियानलाई स्ववियु त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपसभापति तथा भैरव प्रेस डटकमका सम्पादक सन्तोष गहतराजले राष्ट्रिय गौरव र वातावरण संरक्षणसँग जोडिएको महत्वपूर्ण प्रयास भएको बताउनुभयो। उहाँले यस्ता कामले आस्था, राष्ट्रप्रेम र प्रकृतिलाई एकसाथ जोड्ने भन्दै साना प्रयासले नै दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। धार्मिक स्थलहरूलाई हराभरा राख्नाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने भन्दै गहतराजले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
लिपिन्देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खातीले धार्मिक स्थलहरूमा अभियानले वातावरण स्वच्छ बनाउनुको साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने बताउनुभयो । उहाले भन्नुभयो ,लालीगुराँसले मन्दिरको वातावरणलाई मात्रै सुन्दर बनाउँदैन, यसले भावनात्मक रूपमा समेत मानिसलाई जोड्ने बताउनुभयो । मन्दिरमा आउने भक्तजनलाई हराभरा र सफा वातावरण दिनु मन्दिर व्यवस्थापन समितिको जिम्मेवारी रहेकाले अभियानलाई निरन्तरता दिन समिति पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले समेत यस्ता कामहरूले नयाँ पुस्तामा राष्ट्रप्रेम, संस्कृति र वातावरणप्रतिको जिम्मेवारीको भावना विकास गर्न मद्दत गर्ने बताउनु भएको छ । उहाहरूले यस्ता सन्देशमूलक कार्यक्रमले समाजमा एकता, सद्भाव र सकारात्मक सोच विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । यसरी राष्ट्रिय झण्डा राख्ने र लालीगुराँस रोपणजस्ता अभियानमार्फत राष्ट्र, संस्कृति र वातावरणलाई एकसाथ जोड्दै सकारात्मक सन्देश दिन सफल भएको सबै सहभागीहरूले बताउनुभयो।








































Comments