पाल्पाको तानसेनमा ७ दिने साना तथा मझौला होटल व्यवस्थापन तालिम शुरू

पाल्पाकाे तानसेनमा साना तथा मझौला होटल व्यवस्थापन तालिम शुरू भएको छ । तालिम ७ दिने सम्म सञ्चालन हुनेछ । तालिम लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन विकास परिषद् बुटवल, नेपालकाे आर्थिक सहयोग र पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ तानसेन, पाल्पाकाे सहकार्यमा शुरू भएको हाे । पाल्पामा रहेका साना तथा मझौला होटलहरूलाई व्यवस्थित बनाउने उधेश्यका साथ तालिमकाे आयाेजना गरिएको हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघका महासचिव जयराम सापकोटाले बताए । 

 

तालिमकाे शुभारम्भ पानसमा दिप प्रज्वलन गरि लुम्बिनी प्रदेश सरकार उधाेग,पर्यटन तथा सहकारी मन्त्रालय पर्यटन विकास परिषद् बुटवलका निर्देशक रामु जाेशीले गर्नुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जाेशीले साना तथा मझौला हाेटल व्यवसायीहरूलाई स्थानीय लाेकल खानेकुराहरू परिकार निर्माण,पर्यटकहरूलाई गरिने स्वागत,सरसफाइ र  डिजिटल मार्केटिङका बारेमा जानकारी दिनका लागि तालिमकाे आयाेजना गरिएकाे बताए । पर्यटन विकास परिषद् लुम्बिनीले यश अघि पाल्पामा लाेकल टुर गाइड तालिम,हाेम स्टे सम्बन्धि तालिम प्रदान गरि सकेको बताए । पाल्पा जिल्ला आफैमा सुन्दर जिल्ला रहेको बताए । पाल्पा प्राकृतिक,ऐतिहासिक,कला सस्कृति,परम्परागत कलाकाैशलले धनी जिल्ला रहेको बताए । पाल्पाकाे विकासका लागि पर्यटन अपरिहार्य रहेकाले जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर एवम पर्यटकिय क्षेत्रकाे पहिचान गर्ने र प्रचार प्रसार गर्न परिषद्ले पहल गरिरहेकाे बताए ।  पाल्पाको सदरमुकाम समेत रहेकाे तानसेनलाई हिल स्टेशनकाे रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । तानसेनमा बजार आफैमा सुन्दर छ । यहाँ बनेका पुराना शैलीका घर तथा संरचनाहरू आफै ऐतिहासिक छन । यी संरचनालाई हटाएर हाेइन,भत्काएर हाेइन ,संरक्षण र प्रचार प्रसार गरि तानसेनलाई हिल स्टेशनकाे रूपमा विकास गर्नुपर्ने बताए । बिशेष गरि आन्तरिक एवम बाह्य पर्यटकहरूकाे राेजाईमा  साना तथा मझौला हाेटल पर्ने बताए । साना तथा मझौला हाेटलहरूमा लाेकल खानेकुराहरू उपलब्ध हुने विश्वास साथ पर्यटकहरूकाे राेजाई पर्ने गरेको बताए । परिषद्ले ती व्यवसायीहरूलाई सजग बनाउन,दक्ष बनाउन र पर्यटकहरूलाई आकर्षित गर्ने हेतुका साथ  तालिम शुरू गरेको बताए । 

 

कार्यक्रमका विशिष्ट अतिथि तानसेन टुरिजम एक्सन कमिटिका संयाेजक एवम तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जनले व्यवसायीहरूले परिमाणलाई भन्दा गुणस्तरलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । पर्यटकहरूकाे आगमनमा वृद्धि गर्नका लागि हाेटल तथा रेष्टुरेन्टहरूले प्रदान गर्ने सेवा सुविधा र गुणस्तरमा निर्भर हुने भएकोले व्यवसायीहरू यस तर्फ ध्यान दिन जरुरी रहेको बताए । पाल्पाको सन्दर्भमा हेर्दा पर्यटकहरू हवाई मार्गबाट भन्दा स्थल मार्गबाट बिशेष गरि भारतीय पर्यटकहरूको आगमन हुने बताए । भारतीय पर्यटकहरूलाई तानसेनमा आकर्षित  गर्न सबै पक्ष लाग्नु पर्ने बताए । पर्यटकहरूले अर्गानिक,हाइजिनिक खानेकुरा सँगै स्थानीय कला सस्कृतिमा रम्नरमाउन चाहने हुदा परिषद्सँग सहकार्य गरि तानसेन नगरपालिका टुरिजम एक्सन कमिटीले हाेम स्टे व्यवस्थापन सम्बन्धि तालिम,लाेकल टुर गाइड सम्बन्धि तालिम प्रदान गरिसकेको बताए । तालिमले पाल्पा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा आवद्व व्यवसायहरू थप परिस्कृत र पर्यटन मैत्री बनाउन सहयोग गर्नेमा विश्वस्त रहेको बताए । 

 

पाल्पा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष माेहन प्रसाद श्रेष्ठले काेभिड र भुकम्पका कारण अहिले हाेटल तथा रेष्टुरेन्ट व्यवसायीहरूकाे लगानी जाेखिममा रहेको बताए । उनले भने लगानी उठाउन नसक्दा कतिपय व्यवसायहरू बन्द भएका छन । भने युवाहरू विदेश पलायन भएका छन । व्यवसायहरूलाई टिकाइ राख्न,युवाहरूलाई देशमा स्वराेजगार बनाउन देशका तिनै तहका सरकार,बैक तथा वित्तिय सस्थाहरूले सकारात्मक वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए । 

 

कार्यक्रममा पाल्पा उधाेग वाणिज्य संघ अध्यक्ष शैलेन्द्र भट्टराई,पाल्पा व्यापार संघका अध्यक्ष बामदेब गाैतम,नाटा पाल्पा च्याप्टरका अध्यक्ष राजीव कुमार शाह,तानसेन हाेम स्टेका सदस्य सुनिता श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रम पर्यटन विकास परिषदकि लक्ष्मी पाैडेलकाे स्वागत,पाल्पा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अशाेक थापाको धन्यवाद,पाल्पा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालको अध्यक्षता र महासचिव जयराम सापकोटाकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।  कार्यक्रममा पाल्पा हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालले तालिमले तानसेनकाे टुरिजम थप इटा थप्ने बताए ।

Comments