पाल्पाकाे तानसेनमा गठे मंगल पर्व मनाइयो !
पाल्पा– नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज देशै भर मनाइएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले यो पर्व मनाउने गर्दछन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने परम्परा रहेको छ । कतिपय स्थानमा भने विभिन्न ठाउँमा भएका गठेमंगल एकत्रित गरेर जलाउने चलन पनि रहेको छ ।
परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ । ज्यापू समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउन यो पर्व मनाउने गरिन्छ । उपत्यकामा विशेष गरी इन्द्रचोक, म्याँपी लगायतका स्थानमा गठामंगल ठड्याउने गरिन्छ भने उपत्यका बाहिर पनि नेवार समुदायको बाक्लो बसोबास भएको स्थानमा विशेष महत्वका साथ यो पर्व मनाउने चलन रहेको छ । केही स्थानमा आज बाट सुरु भएको पर्व लाखेजात्रा, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ । यस दिनमा मान्छेहरुले गठेमंगलको औठिका रुपमा विभिन्न धातुको औठि लगाउने र घर घरबाट भुत भगाउने चलन पनि कायम छ । पाल्पाको तानसेनको सित्तलपाटी, टक्सार चोक, पेट्रोलपम्प, बसपार्क, नारायणस्थान लगायतका ठाउँहरुमा गठेंमंगललाई झुण्डाएर राखिएको छ ।
यसै बिच तानसेन वडा न २ काे नारायण युवा क्लबले पनि नर्कटको तीनखुट्टे लिंगाकृति गठाँ बनाई गठे मंगल पर्व मनाएकाे छ । पछिल्लो समयमा गाठे मंगल पर्व हराउदै जान लागेकोले स्थानीय सरकारले यस्काे संरक्षणमा जाेड दिएकाे तानसेन नगरपालिका वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो । तानसेनमा गाठे मंगल पर्वकाे संरक्षणमा सामाजिक सस्थाहरूले पनि उतिकै जाेड दिन थालेका छन । परम्परागत सस्कृतिकाे संरक्षण र पुस्ता हस्तान्तरणमा जाेड दिनुपर्ने स्थानीय वृद्धिजिवि समाज सेवीहरूकाे जाेड छ ।








































Comments