पाल्पाकाे तानसेन ४ मंखनटाेलमा हरेक शुक्रबार लाग्ने साप्ताहिक बजारकाे शुभारम्भ
पाल्पाकाे तानसेन ४ मंखनटाेल तेस्रो सडकमा हरेक शुक्रबार महिला उधमीद्वारा सञ्चालन हुने साप्ताहिक बजारकाे शुभारम्भ भएको छ । साप्ताहिक बजारकाे शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र युनाेस्पका कन्ट्रि म्यानेजर कमल कार्कीले संयुक्त रूपमाले गर्नुभएको हाे । ऐतिहासिक शहर तानसेनको मंखनटोलमा शुक्रबारदेखि साप्ताहिक बजारको शुभारम्भ भएसँगै स्थानीय अर्थतन्त्र र व्यापारमा नयाँ उत्साहा थपेको छ । तानसेन सांस्कृतिक सम्पदा र मनोरम प्राकृतिक सौन्दर्यका कारण पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । यो महोत्सवले स्थानीय उत्पादन र परम्परालाई उजागर गर्दै थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले बताउनुभयो ।
महोत्सवले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने मात्र होइन, समाजमा आपसी सहकार्य र मेलमिलापको भावना पनि प्रवर्द्धन गर्नेछ। हरेक शुक्रबार जमघट हुने यो महोत्सवले ताजा उत्पादन, सांस्कृतिक प्रस्तुतिहरू र सामाजिक संवादको थलो उपलब्ध गराउने वडा अध्यक्ष शाक्यले बताउनुभयो । महिला नेतृत्वकाे बजार, संयुक्त अर्थतन्त्रकाे आधार भन्ने मूल नाराका साथ वडा नं. ४ सँग मिलेर मखनटाेल टाेल विकास संस्थाकाे आयाेजनामा हुने साप्ताहिक बजारका लागि युनाेस्प (सिट फर वाेमेन) सहयोग रहनेछ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सडक महोत्सवले तानसेनको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो भूमिका खेल्ने बताउनुभयाे । विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले नगरलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा प्रेरणा दिने अपेक्षा नगरपालिकाले राखेको बताउनुभयो । महोत्सवले केवल स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन मात्र नगरि हाम्रो संस्कृतिलाई पनि संरक्षण गर्ने महत्वपूर्ण कार्य गर्ने बताउनुभयो ।
महिलाकाे नेतृत्वले हुने साप्ताहि बजारले समाजलाई उदाहरण प्रस्तुत गर्नुकाे साथसाथै आत्मनिर्भरता र सिर्जनशीलताकाे विकास हुने बताउनुभयो । बजारले स्थानीय महिला उद्यमी, र साना व्यवसायीलाई आफ्नो उत्पादन विक्री गर्न सहयोग पुर्याउनेछ। साथै, यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र रोजगार सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले साप्ताहिक बजारले तानसेनलाई व्यापारिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्याउने बताउनुभयो । स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा यो एउटा महत्वपूर्ण कोशेढुंगा हुने बताउनुभयो । विशेषगरी महिलाहरूको नेतृत्वमा भएको यो कार्यक्रमले नगरलाई आत्मनिर्भर र सशक्त बनाउने दिशामा प्रेरणा दिएको नगर उप प्रमुख सिङ्जालीले बताउनुभएको छ । नगरपालिकाको तर्फबाट यस महोत्सवलाई अझ व्यापक र प्रभावकारी बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
स्थानीय ज्ञान माया शाक्यले साप्ताहिक बजारले तानसेनकाे कला सस्कृति संरक्षण र प्रवर्द्वनमा टेवा पुग्ने बताउनुभयो । सडक महोत्सवले स्थानीय उत्पादन विक्री गर्न र स्थानीय महिलाहरूकाे आयआर्जनमा वृद्धि गर्न टेवा पुर्याउने बताउनुभयो ।
तानसेनकाे मंखनटाेलमा महिला उधमीहरूबाट सञ्चालन हुने साप्ताहिक बजारमा तानसेन परम्परागत सस्कृति र स्थानीय उत्पादनलाई प्रर्वद्वन गर्ने याेजना रहेको छ । महिला मैत्री शहरकाे अवधारणा अनुरूप उक्त स्थानमा हप्ताकाे एक पटक सवारीसाधन रहित बनाउने परियाेजनाकाे लक्ष्य रहेको युनोप्स डिजाइनर मन्जु राउतले जानकारी दिनुभयाे । सडकमा हप्ताकाे एक दिन सवारीसाधन रहित बनाइ महिलाहरूलाई उधमशील कार्यकाे माध्यमबाट स्वराेजगार बनाउने र साना बालबालिकाहरू खेल्ने रमाउने स्थानकाे रूपमा विकास गरिने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला,नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनी,वडा न १४ का वडा अध्यक्ष शाेभाकर भट्टराई लगाएतकाे उपस्थिति रहेको थियाे ।








































Comments