पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’

तानसेन : दसैंको अन्तिम दिन आज कोजाग्ररत पूर्णिमाको दिन पाल्पाका कोतघर र देवी मन्दिरहरूमा 'वाख्यै हो' भन्दै तरवार नचाउँदै सराये नाच निकालिएको छ। देवी भगवती दुर्गाले राक्षस, असुरहरूलाई तरवारको प्रयोग गरी वध गरी विजय प्राप्त गरेको सम्झनास्वरुप पाल्पाका गाउँ-गाउँमा आज मन्दिरहरूमा 'वाख्खै हो' भन्दै तरवार नाच देखाइएको हो ।

 

दसैंको अवसरमा देवी भगवती मन्दिरहरमा खेलिने तरवार नाच निकै प्रचलित हुँदै आए पनि नयाँ पुस्तमा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । पाल्पाका प्रत्येक देवी, भगवती मन्दिरहरूमा निकालिने वाख्यै सराय नाच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्वा, छहराको कटौजेपानी, भुवनपोखरीको रैनादेवीलगायतका मन्दिरमा सराय नाच प्रदर्शन गरिएको छ । 

 

विगतका समयमा मनोरञ्जनका साधन नभएकाले यस्ता नाचहरू मनोरञ्जनमा मानिसको ध्यान केन्द्रित भए पनि आजकल सामाजिक सञ्जालको कारण संस्कृति लोप हुने अवस्थामा पुगेको बुढापाका बताउँछन् । नाचमा पाका पुस्तादेखि युवाहरूले सामूहिक र एकलरूपमा तरवार नचाएका थिए । निकै जोखिम, खतरापूर्ण खेलको रूपमा तरवार नाचलाई लिने गरिन्छ । होसियारी नअपनाएमा तरवार नचाउने देखि दर्शकहरूको ज्यानसमेत जानसक्ने भएकाले निकै लामो अभ्यासपछि मात्र तरवार नचाउन मन्दिरका पूजारीहरूले बताउने गरेका छन् ।

 

पञ्चेबाजा बजाएर मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाएर एकापसमा जोडिएर सराय नाच्ने र खेल्ने गरिन्छ । पहाडको अग्लो भाग चुचुरोमा रहेका कोटघरको आँगनमै पनि यो नाच्ने चलन रहेको बन्दीपोखराका लिपिन्देवी मन्दिरका अध्यक्ष शेरबहादुर खातीले बताउनुभयाे  । ऐतिहासिक हातहतियारको भण्डार पनि कोतघरमा हुने हुँदा कोट नजिकै सरायमा उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको हो । 

सरायले ऐतिहासिक संस्कति जोगाउने काम गरेको थियो । परम्परादेखि नै गाउँको देवी मन्दिरमा भएका सयौं खुँडाहरूलाई धारिलो बनाई प्रत्येक वर्ष विशेषगरी कोजाग्रत पूर्णिमामा निकालेर ठोक्काउने चलन छ । जानकारहरूका अनुसार भुरे–टाकुरे राजाहरूको युद्धमात्र होइन, दैत्यमाथि देवीको विजयको उत्सवको रूपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरिने चलन हो । सराय नाचको प्रचलन बाइसे–चौबिसे राज्यकाल (१५ औं शताब्दी) बाट सुरुवात भएको हो ।

Comments