पाल्पाको पर्यटन प्रवर्द्धनका लागि यातायात व्यवसायी पर्यटनमैत्री हुनुपर्ने कांग्रेस सभापति :श्रेष्ठ

पाल्पा – नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पाल्पाको पर्यटन प्रवर्द्धनका लागि यातायात व्यवसायीहरू पर्यटनमैत्री हुनुपर्ने बताउनुभएको छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यातायात क्षेत्रको सुधारले पर्यटकलाई आकर्षित गर्न सकिने उल्लेख गर्नुभयो ।

 

सभापति श्रेष्ठले पाल्पा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध जिल्ला रहेको बताउनुभयो । उहाले पाल्पाको  पर्यटकीय विकासका लागि यातायात व्यवस्थापन सुदृढ बनाउनु अपरिहार्य रहेको उहाँको भनाइ छ । यातायात सेवा व्यवस्थित नभएसम्म पाल्पाको पर्यटन क्षेत्रको दिगो विकास सम्भव नहुने उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले यातायात व्यवसायीहरूले पर्यटकलाई सहज, सुरक्षित, र भरपर्दो सेवा दिन आग्रह गर्नुभयो । यात्रुहरूसँग सौहार्दपूर्ण व्यवहार, सवारी साधनको स्वच्छता, उचित भाडादर निर्धारण, तथा सूचना प्रवाह प्रणाली सुधार गर्नुपर्ने आवश्यकतामा ध्यानाकर्षण गराउनुभयो । सभापति श्रेष्ठको पाल्पाको पर्यटन विकासका लागि यातायात व्यवसायीहरूले सहकार्य गरेर पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने बताउदै यसका लागि व्यवसायीहरूले आफूलाई आधुनिक परिवहन व्यवस्थापन प्रणालीसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रममा उपभोक्ता हित संरक्षण नेपालका केन्द्रीय उपाध्यक्ष उमाशंकर खड्काले पाल्पामा सम्पन्न कार्यक्रम ऐतिहासिक रहेको बताउनुभयाे । उहाँले लोकतान्त्रिक व्यवसायीहरूलाई एकजुट गराएर आयोजना गरिएको कार्यक्रम  प्रशंसनीय भएको उल्लेख गर्नुभयो । उपाध्यक्ष खड्काले उपभोक्ताका हकहित संरक्षण गर्न जिल्ला प्रशासन, स्थानीय सरकार, र विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ताहरूलाई सुरक्षित, भरपर्दो, र गुणस्तरीय सेवा प्रदान गर्न सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउदै नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले यशतर्फ सकारात्मक कदम चाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका जिल्ला अध्यक्ष नीलकण्ठ देवकोटाले यातायात व्यवसायीहरू, प्रशासन, र सरोकारवालाबीच समन्वय गरी यातायातका समस्या सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले  व्यवस्थित यातायात सेवा बिना पर्यटन प्रवर्द्धन सम्भव नहुने बताउदै यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न ट्रेड युनियन कांग्रेस पाल्पाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा नेपाल कांग्रेस पाल्पाका जिल्ला सदस्य डा. माधव थापाले संघले नीति, विचार र सिद्धान्त अनुरूप संगठन विस्तार कार्यलाई जाेड दिनुपर्ने बताउनुभयो । यातायात तथा मजदुरका हकहित संरक्षण गर्दै यात्रुहरूका पक्षमा काम गर्नु संघको प्रमुख कर्तव्य रहेको बताउनुभयो । मजदुरहरूलाई लोकतान्त्रिक रूपमा संगठित गरी उनीहरूको विकासका गर्न संघले जिम्मेवार नेतृत्व तयार गर्नुपर्ने धारणा राख्नु भयाे । संघको भूमिका केवल संगठन विस्तारमा सीमित नभई मजदुर अधिकारको रक्षा र उनीहरूको जीवनस्तर उकास्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल कराते महासंघ लुम्बिनी प्रदेश संरक्षक भरत के सी,नेपाल ट्रेड युनियन काङ्ग्रेसका जिल्ला सचिव लाेकनाथ अधिकारी,नेपाली काङ्ग्रेसका नेता अशाेक कुवर लगाएतकाे उपस्थिति रहेको थियाे ।

Comments