पाल्पाको निस्दीमा सार्वजनिक सुनुवाई सम्पन्न

होम राई मगर, भदौ ७ /  पाल्पा - निस्दी गाउँपालिका पाल्पाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

 

 निस्दीमा चालु  तर्फ ८५ दशमलव ५ प्रतिशत र पूँजीगत तर्फ ६९ प्रतिशत खर्च प्रगति भएको  प्रतिवेदनमा उल्लेख  छ ।  निस्दीमा यस वर्ष २ सय ६२ वटा योजना तथा कार्यक्रम मध्ये २२८ वटा योजना मात्र सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अन्तर्गत निस्दीको वडा नम्बर-३,झिरुबासमा सबैभन्दा धेरै ९४ दशमलव ०५ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न भएको छ भने सबैभन्दा कम वडा नम्बर-७,को ज्यामिरेमा ५३ दशमलव ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । सबैभन्दा कम योजना सम्पन्न हुने वडा नम्बर-७, ज्यामिरे गाउँपालिका अध्यक्ष सारुको वडा समेत हो । निस्दीले विगतमा झै विभिन्न आयोजनाहरुको अनुगमन गरिएको,एकीकृत घुम्ती शिविरका साथै पालिका स्तरीय पकेट बिकास कार्यक्रम सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमुलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नति सन्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना सन्चालनका साथै स्थानीय कृषि उपजलाई बिक्री वितरणमा सहजता ल्याउन योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो ।

 

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा शैक्षिक गुणस्तर, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानी तथा सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने जिज्ञासा तथा सुझाव  राखेका छन । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताए । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताए ।गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा  उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका शलिकराम पाण्डेय लगायतले कार्यक्रमको बारेमा आ-आफ्नो धारणा राख्नु भएको छ । 

 

सहभागीले उठाएका जिज्ञासाको जवाफ विभिन्न विषयगत शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले दिनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार विजय बौडेल र विष्णु घिमिरेले गर्नुभएको हो ।

Comments