पाल्पा विद्यालयस्तरीय क्रिकेट फाइनलमा बिज्जु बोर्डिङ र विष्णु मावि भिड्ने
पाल्पा-पाल्पाको तानसेनस्थित टुँडिखेल मैदानमा सञ्चालन भइरहेको “विद्यालयस्तरीय क्रिकेट च्याम्पियनसिप” अन्तर्गत फाइनल खेलमा बिज्जु बोर्डिङ स्कुल र विष्णु माध्यमिक विद्यालय बगनासकाली–२ प्रवेश गरेका छन् । बुधबार हुने फाइनल खेल बिहान ११ बजेदेखि सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ पाल्पाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली उपाधि नजिक पुगेका हुन् । विजेता टोली प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट हुने भएकाले खेल अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त प्रतियोगिता बुधवार समापन हुदैछ । जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा भइरहेको प्रतियोगिता एसजी स्पोर्ट्सको मुख्य प्रायोजन तथा क्रिकमाण्डुको सह–प्रायोजनमा सञ्चालन भइरहेको हो । प्रतियोगितामा पाल्पा जिल्लाका १५ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । विद्यालयस्तरमै क्रिकेट खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले अनुशासित खेल प्रदर्शन गर्नुका साथै खेलप्रतिको उत्साहसमेत देखाएका छन् ।
जिल्ला क्रिकेट संघ पाल्पाका सदस्य तथा खेल संयोजक पुर्नराज शाक्यले विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास गर्नु, नयाँ प्रतिभा पहिचान गर्नु तथा खेलाडीलाई उचित प्लेटफर्म उपलब्ध गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार यस्ता प्रतियोगिताले खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउने मात्र नभई भविष्यमा प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्न आवश्यक आत्मविश्वाससमेत प्रदान गर्ने गर्दछ ।
उहाँले पाल्पामा क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै विद्यालयस्तरमा नियमित प्रतियोगिता आयोजना गर्न सके जिल्लाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय विद्यालयहरूले पनि क्रिकेटलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई प्रशिक्षण र खेल अभ्यासमा प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ ।
विद्यालयस्तरीय क्रिकेट च्याम्पियनसिपले पाल्पामा क्रिकेटको आधार बलियो बनाउँदै भविष्यका प्रतिभाशाली खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । स्थानीय स्तरमा यस्ता प्रतियोगिताले खेल संस्कृतिको विकास गर्नुका साथै विद्यार्थीहरूलाई खेलमार्फत अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना सिकाउने विश्वाससमेत गरिएको छ। बुधबार हुने फाइनल खेलले प्रतियोगिताको उत्साहलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।









































Comments