पाल्पा दरबार संग्रहालयको नेवारी कक्षमा परम्परागत नेवारी संस्कृति झल्कने सामग्री हस्तान्तरण
पाल्पा- नेवा गुठी तानसेनको सक्रिय पहलमा पाल्पा दरबार संग्रहालय तानसेनको नेवारी कक्षमा परम्परागत संस्कृति झल्कने सामग्री थप गरिएको छ । तानसेन नगरपालिका–६ भिमसेन टोल निवासी तथा सर्जक रजनी गोङ्गलले आफ्नै सिर्जनामा तयार पारेका पास्नी, बेल विवाह, भाइ टिका, कुमारी देवी लगायत नेवारी समुदायका परम्परागत संस्कृतिलाई प्रतिविम्बित गर्ने सामग्री औपचारिक कार्यक्रमबीच संग्रहालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेवा गुठी तानसेनका पदाधिकारी, सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो । उक्त सामग्री पाल्पा दरबार संग्रहालयकी प्रतिनिधि सपना श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । श्रेष्ठले नेवारी समुदायको मौलिकता झल्कने सामग्रीले संग्रहालयको नेवारी कक्षलाई अझ सशक्त र आकर्षक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सामग्री सर्जक रजनी गोङ्गलले आफूले नेवारी समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले पुतली सामग्री तयार गरेको बताउँदै, “बालबालिकाबाट सुरु हुने नेवारी परम्परागत संस्कार–पास्नीदेखि लिएर कुमारी पूजासम्मलाई सिर्जनामा उतार्न पाउँदा गर्व लागेको बताउनुभयो । आगामी दिनमा अझ नयाँ सामग्री सिर्जना गरी संग्रहालयलाई उपलब्ध गराउने बताउनुभयो ।
नेवा गुठी तानसेनका पदाधिकारीहरूले संग्रहालयमा नेवारी कक्ष स्थापना मात्र नभई समुदायको जीवनशैली, संस्कार र मौलिक सांस्कृतिक पहिचानलाई भावी पुस्तासम्म पु¥याउने अभियानलाई अझै सशक्त बनाउँदै लगिने बताउनुभएको छ ।
नेवा गुठी तानसेनका अध्यक्ष प्रकाश गंगोलले सर्जक रजनी गोङ्गलले सिर्जना गर्नुभएको सामाग्रीले नया पुस्तामा कला सस्कृतिको जानकारी दिनुका साथै कला सस्कृति संरक्षण र प्रबर्द्वनमा टेवा पुग्ने बताउनुभयो । संग्रहालयका दर्शकहरूले अब पाल्पा दरबारको नेवारी कक्षमा प्रवेश गर्दा नेवार समुदायका जीवनचक्रसँग सम्बन्धित महत्वपूर्ण संस्कार–संस्कृति प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । यसले स्थानीय संस्कृति मात्र नभई सम्पूर्ण पाल्पा तथा नेपालकै सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको तानसेन नगरपालिका वडा न ३ का वडा सदस्य सुनिता श्रेष्ठले बताउनुभयो ।








































Comments