पाल्पा साइक्लिङ संघद्वारा गणपति भूपेन्द्र गुरूङलाई मायालु विदाई

पाल्पा — पाल्पा जिल्ला साइक्लिङ संघले“दि फेमस महेन्द्र दल”का गणपति भूपेन्द्र गुरूङलाई कदरपत्रसहित मायालु विदाई गरेको छ । विगतका बर्षदेखि पाल्पामा आयोजित विविध साइक्लिङ प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका गुरूङ काठमाडौँ सरुवा हुन लागेकाले संघले उहाँको योगदानलाई सम्मान गर्दै विदाई कार्यक्रम आयोजना गरेको हो ।

 

कार्यक्रममा पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रूपेश महर्जनले गुरूङलाई सम्मानपत्र प्रदान गर्दै, साइक्लिङ खेलको विकासमा उहाँको निरन्तर सक्रियता, अनुशासन र समर्पणले संघलाई अघि बढ्न महत्वपूर्ण योगदान दिएको भन्दै आभार प्रकट गर्नुभयो । कार्यक्रममा पाल्पा जिल्ला साइक्लिङ संघका निवर्तमान अध्यक्ष एवम् तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सागर महर्जनले मन्तव्य राख्दै गुरूङको सहभागिता प्रेरणादायी रहेको बताउनुभयाे ।  “उहाँको सकारात्मक ऊर्जा र खेलप्रतिको समर्पण सबै युवाहरूका लागि उदाहरणीय छ,” वडाध्यक्ष महर्जनले भन्नुभयो।

 

कार्यक्रमका अन्य वक्ताहरूले पनि गुरूङको योगदानको प्रशंसा गर्दै उहाँको आगामी काठमाडौँ बसाइ सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । साथै, कार्यक्रममा पाल्पा जिल्ला साइक्लिङ संघका सचिव विज्ञान बर्जाचार्यले संघको आगामी योजना सार्वजनिक गर्दै, महिलाहरूका लागि साइकल चलाउने तालिम सञ्चालन गर्ने र पाल्पाको पूर्वी भेग रामपुरमा छिट्टै ‘हेरिटेज टुर सिजन २’ आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा उपाध्यक्ष सुरज शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने धन्यवाद ज्ञापन शान्तम थैवले गर्नुभएको थियो । 

 

पाल्पा साइक्लिङ संघले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवर्द्धन गर्न, युवा तथा किशोरहरूलाई साइक्लिङमार्फत स्वास्थ्य र वातावरणप्रति सचेत बनाउन तथा हेरिटेज टुर, दौड प्रतियोगिता, प्रशिक्षण कार्यक्रमहरू जस्ता विविध गतिविधि सञ्चालन गर्दै आएको छ । संघको अगुवाइमा पाल्पाको ऐतिहासिक र सांस्कृतिक सम्पदा चिनाउन सहयोग पुगिरहेको स्थानीयले बताएका छन्  । 

Comments