पाल्पा सि वि आर अध्यक्षमा मधु दयाल शैजु चयन !

पाल्पा –फरक क्षमता भएका व्यक्तिहरूको पुनःस्थापनाका लागि क्रियाशील संस्था सि वि आर पाल्पाकेा २५ औं वार्षिकोत्सव, साधारण सभा तथा अधिवेशन एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सांसद बिर बहादुर राना रहनु भएको थियो । भने विशेष अतिथिका रूपमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ, प्रवक्ता यादवसिंह कार्की, वडा नं ४ का अध्यक्ष एवम पाल्पा सि वि आरका निवर्तमान अध्यक्ष हेमन्तराज शाक्य, पाल्पा सि वि आरका सस्थापक अध्यक्ष छत्रराज शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू,सामाजसेबी फरक्ष क्षमता भएका बालबालिका,अभिभावकहरूको उपस्थिति रहेको थियो । 

 

कार्यक्रमले विगत २५ वर्षको सामाजिक योगदानको समिक्षा गर्दै, संस्थालाई भविष्यमा अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ । अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ,जसमा मधु दयाल शैजु अध्यक्षमा चयन हुनुभएको छ । उपाध्यक्ष मिलन मुनि शाक्य,सचिव शैलेन्द्र भट्टराई,कोषाध्यक्ष अनुराधा बर्जाचार्य,सदस्यहरू स्वस्तिका श्रेष्ठ, सकुन्तला बर्जाचार्य, सुशील प्रधान, पुर्नराज शाक्य, अमृत थापा, अर्जुन कार्की चयन हुनु भएको छ । 

 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सांसद बिर बहादुर रानाले फरक क्षमता भएका व्यक्तिहरूको जीवनयात्रामा साथ दिन समाजको जिम्मेवारी भएको उल्लेख गर्दै सामाजिक कार्यमा फजुल खर्च कटौती गरी सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक अभियन्ताको रूपमा म यो संस्थासँग सदैव सहकार्यमा रहनेछु। आवाजविहीनका लागि हामी नै आवाज बन्नुपर्छ।”उहाले भन्नुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख सन्तोष लाल श्रेष्ठले पाल्पा सि वि आरसँग नगरपालिकाको समन्वय विगतदेखि नै सबल रहेको भन्दै आगामी दिनमा समेत पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष हेमन्त राज शाक्यले सांगठनिक प्रतिवेदन र कार्यालय प्रमुख कृष्ण गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने सस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष शैजुले सफरक क्षमता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सामाजिक समावेशितालाई अझ प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो । 

Comments