पाल्पा–काठमाडौँ यात्रामा नयाँ आयाम : ‘पाल्पा दर्शन’ बस सेवा शुभारम्भ
पाल्पा–काठमाडौँ यात्रालाई सुरक्षित, सहज र सुविधासम्पन्न बनाउने उद्देश्यका साथ पाल्पामै पहिलो पटक ‘पाल्पा दर्शन’ नामक भिआइपी रात्री बस सेवा सञ्चालनमा आएको छ। लामो समयदेखि दुर्गम भौगोलिक अवस्थाका कारण असहज मानिँदै आएको पाल्पा–काठमाडौँ यात्रामा यो सेवाले नयाँ विकल्प थपेको छ। तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले एक विशेष समारोहका बीच बस सेवाको औपचारिक शुभारम्भ गर्दै पाल्पाको पर्यटन, व्यापार र यातायात क्षेत्रमा यसले सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रको लगानी र पहलले विकासलाई तीव्र बनाउने उल्लेख गर्दै स्थानीय तह सधैं सहकार्यका लागि तयार रहेको बताउनुभयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.द्वारा सञ्चालन गरिएको ‘पाल्पा दर्शन’ बस सेवा अन्तर्गत २×१ भिआइपी सोफा सिटर रात्री बसप्रयोगमा ल्याइएको छ । हाल तीन वटा बस सञ्चालनमा ल्याइएका छन्, जसमा प्रति बस १ करोड १० लाख रुपैयाँ लगानी गरिएको सञ्चालक प्रकाश गंगोलले जानकारी दिनुभयो । यात्रुको सुरक्षालाई उच्च प्राथमिकता दिँदै बसमा सिसिटिभी क्यामेरा, आरामदायी सिट, पर्याप्त लेग स्पेस तथा स्वच्छता व्यवस्थामा विशेष ध्यान दिइएको छ । साथै, महिलाहरूलाई सुरक्षित यात्राको अनुभूति दिलाउन महिला मैत्री बस सेवाका रूपमा यसलाई सञ्चालन गरिएको छ। पाल्पा–काठमाडौँ यात्राका लागि भाडादर १,६१० रुपैयाँ तोकिएको छ, जुन सुविधाका आधारमा उचित रहेको व्यवसायीहरूको भनाइ छ ।
शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरूले ‘पाल्पा दर्शन’ बस सेवाले पाल्पाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले सुरक्षित र स्तरीय यातायात सेवाबिना पर्यटनको विकास सम्भव नहुने उल्लेख गर्दै यो सेवा पाल्पाका लागि कोशेढुंगा सावित हुने बताउनुभयो । नेपाली कांग्रेस तानसेन नगर समितिका सचिव लक्ष्मण रावल, नेकपा एमाले तानसेन नगर समितिका अध्यक्ष गुराँस आत्रेय र भगवती गुठीका अध्यक्ष अशोक महर्जनले पनि पाल्पाको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यसम्म पुग्ने यात्रुका लागि यो बस सेवा आकर्षण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ‘नमस्ते पाल्पा’ अभियानका अभियन्ता देव पचभैयाले यातायात क्षेत्रलाई दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सुविधा सम्पन्न बस सेवाले मात्र होइन, सेवा, व्यवहार र समयपालनले पनि यात्रुको विश्वास जित्नुपर्ने बताउनुभयो । व्यवसायी विकास भट्टराईले‘पाल्पा दर्शन’ बस सेवा हरेक दिन साँझ ५:३० बजे तानसेनबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ, जसले रात्री यात्रालाई सहज बनाउने बताउनुभयो ।
कार्यक्रम तानसेन नगरपालिका TACT का अध्यक्ष सागर महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो भने पाल्पाली टुर एण्ड ट्राभल्सका सञ्चालक राजीव कुमार शाहले सञ्चालन गर्नुभएको थियो । स्थानीय व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, पर्यटनकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा ‘पाल्पा दर्शन’ बस सेवालाई पाल्पाको यातायात क्षेत्रमा नयाँ अध्यायका रूपमा लिइएको छ । ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा धनी पाल्पामा सुविधा सम्पन्न यातायात सेवा सुरु हुनु पर्यटन विकासका लागि सकारात्मक संकेत भएको सरोकारवालाहरूको धारणा छ ।








































Comments