पाल्पा कारागारका ३६ जना कैदीबन्दीले गरे रक्तदान
पाल्पा जेसिजले विश्व रक्तदाता दिवसको अवसरमा कारागारमा आयोजना गरेको रक्तदान कार्यक्रममा पाल्पा कारागारका ३६ जना कैदीबन्दीले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा कैदीबन्दीहरु स्वतस्फूर्त रुपमा आई रक्तदान गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ आनन्द काफ्लेले कारागारका बन्दीहरुलाई रक्तदान अभियानमा जोडेकोमा पाल्पा जेसिज प्रति आभार व्यक्त गर्दे उनले जिल्लामा हुने रगत अभावलाई केही हदसम्म भए पनि पूर्ति गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । जेसिजका अध्यक्ष जेसी अर्जुन कार्कीले कैदीबन्दीको उत्साह बढाउन तथा रक्तदान जीवनदान हो भन्ने सन्देश दिन कारागारमै रक्तदान कार्यक्रम गरिएको बताए । विभिन्न मुद्दामा जेल परे पनि कैदीबन्दीहरु पनि सामाजिक प्राणी नै हुन् । उनीहरुलाई पनि समाजसँग जोड्न सामाजिक कार्य सहभागी गराउनुपर्छ भनेर नै बैन्दीलाई रक्तदान कार्यक्रममा सहभागी गराएका अध्यक्ष कार्कीले वताए । कार्यक्रममा युनाईटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारख, जेसिज पाल्पाका वर्ष २०२४ का सल्लाहकार संयोजक सुवर्णमुनी शाक्य लगायतले बन्दीहरुले रक्तदान गरेर प्रशंसनिय कार्य गरेको बताए ।
जेसिजले पाल्पा कारागार, नेपाल रेडक्रस सोसाइटीको सह आयोजना, कामना सेवा विकास बैंक, बागेश्वरी असल शासन क्लव पाल्पाको सहयोग, युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक जेसी सतिशराज शाक्यले बताए । त्यस्तै सोही अवसरमा तानसेन नगरपालिका–४ वडा कार्यालयको सहयोगमा ६ थान लुडो र ५ थान चेस समेत बन्दीहरुका लागि जेसिजले वितरण गरेको थियो । पाल्पा जेसिस युवाहरुको नेतृत्व, व्यक्तित्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको छ ।








































Comments